चीनमा तामाङ गाउँ एक भ्रम, र सत्य (Tamang Village in China? What's true? by Ajitman Tamang)

 

चीनमा तामाङ गाउँ एक भ्रम, र सत्य

(?अजितमान तामाङ, उपाध्यक्ष, नेपाल तामाङ ग्हेदुङ)

(Ajitman Tamang)


पृष्ठभूमिः

चीनको स्वशासित क्षेत्र तिब्बतको दक्षिणपश्चिम सीमामा प्रसिद्ध प्राचीन गुङथाङ अधिराज्य थियोजुन आजको केरोङ काउन्टीको क्षेत्र पनि हो। यो सिगात्चे प्रिफेक्चरमा पर्ने प्राचीन नगरले टुबो अधिराज्य काल देखिको छुट्टो इतिहास रहेको छ यो नेपाल र चीनको सीमामा रहेको ऐतिहासिक एवं प्राचीन शहर केरोङ हो। केरोङलाई किरोङ, क्यिरोङ, केरूङ भनिन्छ। चिनिया भाषामा /jilong/[Gyirong] जिलोङ लेखिन्छ र भनिन्छ। शास्त्रीय तिब्बती भाषामा  སྐྱིད་གྲོང་/ སྐྱིད་གྲོང་རྫོང་ [क्यीग्रोङ]/ कीरोङजोङ र कीरोङ लेख्ने र भन्ने गरिन्छ (हेर्नुहोस् तिबेटन मोबाइल एप्स)। तिब्बतीलाई बोदपा लेखिन्छ र बोइपा भनिन्छ। किरोङमा बस्ने तिब्बतीहरूलाई कीरोङपा भनिन्छ। उनीहरूको भाषालाई སྐྱིད་གྲོང་སྐད་ [क्यिग्रोङस्काद] लेखिन्छ र क्यीरोङ काइ भनिन्छ। तिब्बती स्रोतहरूमा कीरोङलाई दक्षिण पश्‍चिमको शहर, माङयुलको खुसीको शहर आदि नामले चिनिन्छ।

चीनको कीरोङ काउन्टीले  नेपालको वागमती (ताम्सालीङ) प्रदेशको रसुवा, धादिङ, सिन्धुपाल्चोकको हेलम्बु क्षेत्र र गोर्खाको चुम, छेकम्पार, नुप्री, मनाङका ब्राका क्षेत्रआदि भूगोललाई छोएको छ। मनाङको ब्राका र केरोङबाट ३० कि.मि. अगाडी रहेको ब्राकार वा डाकार प्राचीनकालमा एउटै क्षेत्र हो। (तिब्बतीभाषामा ब्रा लेखिएकोलाई उच्चारण डा हुन्छ र डाकार भन्नु र ब्राकार भन्नु एउटै अर्थ दिन्छ। ब्रा तिब्बती बर्मन भाषाको पुरानो रूप हो। यस शब्दको अर्थ भिरालोभूमि या भीर भन्ने दिन्छ। यो यस क्षेत्रको इष्टदेब हो। भने नेपाल र तिब्बत प्रवेशको मूलद्वार तिर्थ पनि हो।) यसरी नै दोलखाको लाप्ची, सिन्धुपाल्चोकको खासा-कोदारी र रसुवाको रसुवागढी-केरोङ र मालागढीबाट चीनको केरोङ पस्ने र चीनबाट आउने यसक्षेत्र वरिपरिका ऐतिहासिक तिर्थ तथा प्रवेशका नाका मार्गहरू हुन्। मुख्यगरी रसुवागढी-कीरोङ र कोदारी तातोपानी-खासा प्राचीन काल देखिनै नेपाल र चीनको व्पापारिक आदान प्रदान हुने र चिनिया, तिब्बतीहरूको भारत जाने अन्तराष्ट्रिय पद मार्ग हो। यही पद मार्ग भएर गुरू रिन्पोर्छे, शान्तरक्षित, विमल मित्र र पछिल्लो चरणमा पहिलोपटक त्रिपिटकाचार्य महापण्डित राहुलसांकृत्यानले (दामोदरनाथ पाण्डेको नामले नेपाल पसि) यतैको बाटो प्रयोग गरेर हेलम्बु हुँदै तिब्बतको शाक्यमठ तथा लासा पुगेका थिए।

कीरोङमा नेपालीहरू नुन, उन, भेँडा र च्याङ्ग्रा लिन जाने र नेपालबाट खुर्सानी, सख्खर, चिउरा, चामलआदि लैजाने गरिन्थ्यो। पहिलेको व्यापारमा सट्टा-पट्टा हुन्थ्यो। चामल लगायतका नेपालबाट लैजाने वस्तु सामग्रीसँग किरोङमा नुन, उन, भेँडाच्याङग्रा लगायतका आवश्यक वस्तुहरू साटिन्थ्यो। मेरी आमा (८३ वर्ष) आफैले जीवनमा दुइ पटक (१३-१५ वर्षको उमेरमा) नुन लिन केरोङ पुग्‍नु भएको गाथा सुनाउनु हुन्छ। ताम्सालीङको नुवाकोटको बोमताङ, हाम्रो गाउँबाट हिँडेको १२ दिनमा केरोङमा पुगि नुन लिएर घर आइपुगिन्थ्यो। तर अचेल त एकै दिनमा मोटर गाडीबाट पुगिन्छ भने कारोबार सबै नगदमा मात्र हुन्छ।

 

ताम्सालीङबाट कीरोङ सीमानाका पुगिने मार्गहरू र सिंगाला (सिंल्हा)

कीरोङ; नेपालबाट चीन तथा तिब्बत जाने प्राचीन र महत्वपूर्ण व्यापारिक मार्ग र सीमा नाका हो । कीरोङ पुग्ने तीन मार्गहरू छन्। रसुवा गढी भएर प्याङ गाउँ, तातोपानी, थोङ्सा हुँदै सिधै कोरोङ पुग्नेबाटो मुख्य राजमार्ग हो। अर्को स्याब्रुबेसी, गोलजोङ, चिलिमे, गोङगाङ, रोङगा, ब्रेम्दाङ, नागथाली, तारुचे, मालागढि, बुगुलुङखोला, केरोङ साङपो नदि तरेर प्याङ गाउँ हुँदै कीरोङ उपत्यका पुगिन्छ। यो पुरानो पैदल मार्ग हो। यो बाटो मुख्य गरेर राजा रजौटाहरू हिँडने गरेको स्थानीय बुढोपाकाहरूको बताउँछन्। रसुवाको साङजेन हिमालयको भेंडीखर्क भएर कीरोङको जिफु र दोल्फु पुग्ने पुरानो ड्रोक्पालाम (Nomad's Route) भेँडागोठ लैजाने बाटो हो। धेरै पहिले हाम्रा भेडी गोठहरू ब्राका अर्थात् 'डाकार तासो' र 'जोङ्गा' (जोङखा) माङयुल मुनीतिरका खर्कहरू सम्म पुग्ने गरेको थियो।

यो मार्ग प्राचीनकालमा भारतबाट नेपालहुँदै तिब्बत पुगेका गुरू रिन्पोछेको पदमार्ग र तिर्थहरू नुवाकोटको चाङ्खा ल्हा(चतुराले कविलास), छावाइ छा देविघाट र डाल्हा फिकुरी (गाङला गाङदुल कुरत्य ने, चाङखा ल्हाइ ल्हा थोकदु, 'डाल्हाइ गेञेन दाम्ला ताक युलनी छावइ छा स्योदु") आदि संग जोडिएको देखिन्छ (हेर्नुहोस्; गुरू रिन्पोर्छेका यात्रावृतान्तः बार्छे ल्हाम सिलमा)। यसले सिंगाल्हा, डाल्हा, चाङ्खा ल्हा भएर तिब्बत र बाल युल (विहार/गोन्पाको देश याम्बु काठमाडौं) आवत जावत गर्ने गरेको तथ्य खुल्दछ।

सन ८२४ मा तिब्बतका राजा ठीस्रोङदेउचनका पुत्र राजकुमार मुतिक छेन्पोले गुरूपद्मसम्भवलाई माङयुल (केरोङ देखि १०० किमि माथि) सम्म पुर्‍याउन आएको इतिहासमा उल्लेख छ (हुगहस)। यहाँबाट गुरूरिन्पोर्छे रातो अर्थात् तामा रंगको पर्वतबाट सूर्यको प्रकाशको किरण (ङीमा होइसेर)मा विलय  हुनुभइ राक्षेसहरूको देशमा युबा राजाभइ विराजमान रहुनु भएको विश्‍वास गरिन्छ। गुरुपद्मसम्भव लंकापुरी जान प्रकाशको किरणमा विलय हुनु भएको पर्वतलाई सिंल्हा भनिन्छ (आजको रूवी भ्याली क्षेत्रको)।

भुटानबाट प्रकाशित हुने कुनसेलका सम्पदक समेत रहेका निमाछिरिङले शेर्पाले आफ्नो बौद्ध निबन्ध संग्रहमा गुरू रिन्पोछेको बारेमा जानकारी दिँदै सन ८०२ मा राजा ठिस्रोङदेउछेनले माङयुल सम्म पुर्‍याउन पठाएको गुरू रिन्पोछे त्यहाँबाट दुइ दिनको यात्रा पछि सिंगाला पुग्नु भएको केहि समय त्यहाँका राजा रक्षकाको एक हजार राजकन्या र प्रजाहरूलाई बौद्ध धर्मबारे दिक्षित गर्न बस्नु भयो। र ङ्याब लिङमा असुर राजा यक्ष मेवालको शरिर धारण गरी युबावस्थामा यक्षहरू माथि प्रभुत्व जमाइ राजा भएर बौद्ध धर्मका लामामतको प्रचार गर्दै ङ्याबलीङमा रहनु भएको छ (शेर्पा, १९९९)। सिंगाला अर्थात् सिंल्हाको दक्षिणपूर्वमा नुवाकोटको रुपचेत, पश्चिमोत्तरमा रूवीभ्याली गाउँपालिकाको जारनाङ र सेर्तुङको बोराङगाउँको शिरमा रहेको छ। यो क्षेत्र मुख्यरूपमा नेपाल र चीन पुरै हिमपर्वत लाप्साङकार्पो(गणेश हिमाल), ल्हाह्रि, पापिल हिमाल आदि बाटो र नाका नभएको हिमालय पर्वतीय सीमा क्षेत्र हो।

यो क्षेत्रको दक्षिणपट्टि तामाङ समुदायको घना र एकल जातीय जनसंख्या रहेको छ। यो क्षेत्र तामाङ भूगोल वागमती (ताम्सालीङ) प्रदेशको उत्तरपश्चिमी भूगोल हो। यो क्षेत्रको चीनसँगको सिमाक्षेत्र केरोङ पुग्ने नेपालको नाका रसुवागढीमा पुगिने पश्चिम तर्फबाट प्रवेश गर्ने प्राचीन मार्ग हो। गोर्खालीहरूले तिब्बतसँगको लडाइमा जाँदा हालको रूबीभ्यालीको बोराङ, सेर्तुङ, तिपलिङ हुँदै पाङसाङ(धादिङ), माङचेत, खुर्पुगाङ हुँदै मालागढी र साङजेन (रसुवा) बाट तिब्बत आक्रमण गर्न गोर्खाली सेनाका गुरूङहरू रहेको पल्टनका टुकुडि यतैबाट रसुवाको कुकुर घाट निस्केको बताउँछन्। किन भने यो मार्ग भेँडीगोठ लैजाने ल्याउने प्राचीन मार्ग हो। १८४९ को गोर्खाली र तिब्बती युद्धमा तिब्बतीलाई चिनिया फौजको मदतपाएपछि गोर्खाली पछि हट्दै वेत्रावती पुगेका थिए। चिनियाले पेल्दै ल्याउँदा पछि हट्दै आउने क्रममा गोर्खाली पल्टनका गुरूङहरू मालागढीबाट पुरानो बाटो भएर ज्यान जोगाएर पाङसाङ हुँदै रूवीभ्याली आइपुगे। तीनै गुरूङहरू बोराङ वरिपरिको उर्वर तामाङ बस्तीको विभिन्न स्थान मै बसेका हुन सक्ने पूर्व गृहमन्त्री बुद्धिमान तामाङ बताउनु हुन्छ। किनभने यी गोर्खाली पल्टनका गुरूङहरूले आफ्नो थाकथलोको भाषा बिर्सनु र संस्कार संस्कृतिमा पनि गोर्खाली पल्टनकै हिन्दूधर्म प्रधान रहेको पाइनुले यो तर्क संगत देखिन्छ। यी गोर्खाली सेनाका गुरूङको बारेमा नेपालका इतिहासमा सामग्री अझै भेटिएका छैन।

यही बाटो भएर भेँडीगोठ कीरोङको वारीपट्टि नेपालतर्फ रहेको साङजेन हिमालयको भेँडीखर्क सम्म अझै लैजाने गरिन्छ। नुवाकोट बाल्ची, साङगाम(साल्मे)का भेँडागोठका मालिक बाल्ची (बालचे) निवासी प्रेम लामाले आफ्नो भेँडिगोठ रुपचेत, सिंल्हा हुँदै पाङसाङको बाटोभएर चीनसँगको सीमा रहेको साङजेन हिमालका खर्क सम्म आजभोलि पनि लाने गरेको बताए। यो क्षेत्र अचेल पर्यटकहरूको पदमार्ग बनेको छ। तामाङ संस्कृति प्रधान भएकाले पर्यटन व्यवसायको प्रबर्द्धन हुने भएकाले सरकारले तामाङ भूमि (The Land of Tamangs) का रूपमा चिनाएका छन्(हेर्नुस् तस्विर-१)। रसुवा तर्फ हाल लाङटाङ हिमालसम्म समेटिएको पर्यटन पदमार्गलाई नेपाल पर्यटन बोर्ड समेतको सविकृत रहेको "तामाङ सांस्कृतिक सम्पदा पदमार्ग" अर्थात् Rasuwa the Tamang Cultural Heritage Trail. पर्यटकीय पदमार्ग संचालनमा रहेको छ। यो चिनिया नाका नजिकको पर्यटन पद मार्ग हो।

चीनको प्याङ (च्याङ) गाउँ

रसुवा गढिबाट लगभग ७ किलोमिटर चीन तर्फ जाँदा प्याङ गाउँ (च्याङ; तिब्बतीमा) पुगिन्छ। पहिले मालागढी भएर चीनको यही प्याङगाउँमा निस्कन्थ्यो। यस गाउँका प्रधान नोर्वु (नाम बदलिएको) चिनिया तिब्बती केरोङपा (कीरोङबासी)ले तामाङभाषा बोल्छन्। यीनले नेपालको रसुवाका गा-लाङ (गत्लाङ) मा बोलिने तामाङभाषा दुरूस्तै बोल्छन्। यीनले रसुवा गढी नजिका तामाङ सम्पदा पदमार्गमा पर्ने स्याब्रुबेसी-टिम्बुरे, ब्रीदीम, आसपास व्यापारका सिलसीलामा आवत-जावात गर्दा तामाङभाषा सिकेको बताउँछन्। यहाँका घर तथा रहनशहन, अन्य खेतीबालीहरू रसुवाली तामाङ गाउँहरूमा जस्तो छ त्यस्तै नै छ। खासै भिन्नता छैन। यो प्याङ गाउँ कटेर गएपछि तातोपानी र थोङसा, म्हुलाथाङगा (यहाँ १०८ सानो सानो स्तूप रहेको छ।) हुँदै कीरोङ शहर पुगिन्छ।

 

चिनिया तिब्बती किरोङ/केरोङ शहर र नेपालको ऐतिहासिक सम्बन्ध

कीरोले टुबो अधिराज्य काल देखिको छुट्टो इतिहास बोकेको पाईन्छजुन समय देखि यसले नेपाल चीन बिचमा मुख्य सेतुको भूमिका निर्वाह गरी आएको छ। उत्तरी भागबाट दक्षिणमा किरोङ साङपो नदी सम्म फैलिएको माला (मालागढी) पर्वत सँगै कीरोङ उपत्यकाले नेपालसँग प्राचीन समय देखि प्राकृतिक सीमा र मैत्री सम्बन्धको भूमिका निर्वाह गर्दै आएको छ (वेइ)

अहिले पनि मालागढी सिमानाको नजिकै चिनियाँ भूमिमा एउटा विशाल चट्टान रहेको छ जसको नाम रोङतोय् छ्योदेन ग्यासाङ हो। यो २.२ मीटर अग्लो र ३ मीटर चौडा रहेको छ । यसमा बौद्धधर्मका महत्वपूर्ण त्रिमूर्ति खोपिएका छन् पुरातत्त्ववेत्ता वेइ भन्छन्, (हेर्नुस; आजको तिब्बत)यहि ढुंगामा खोपिएको विशेष त्रिमूर्ति लाई  རིག་གསུམ་དགོན་པོ་། रिग्सुम गोन्पा (रिग्सोङ गोन्पो)भनिन्छ र संस्कृतमा त्रिकुलनाथ/trikulanātha/ यसमा तीन बोधिसत्वहरु (मंजुश्री तथागत परिवारको भगवान, अवलोकितेश्‍वर पद्म परिवारको भगवान, बज्रपानी बज्र परिवारको भगवान) एउटै ढुंगामा मुर्ति बनाइएको छ। 

अध्ययनले कीरोङमा भएको यो रिग्सुम गोन्पो त्रिकुलनाथ बौद्ध संस्कृतिक परम्परा नेपालबाट तिब्बत उक्लेको देखिन्छ। यो त्रिकुलनाथको मूर्तिमा देखिएको प्रतिमालक्षणले नेपाल, भारत र बंगलादेशका सोमापुर बौद्ध महाविद्यालयकाठौं ताब्दी देखिका शैलीका प्रस्तर कलाको प्रतिनिधित्व गर्दछ। चिनिया पूरात्त्वविज्ञ वेईले दिएको जानकारी अनुसार नवौं शताब्दीको यस्तै प्रकारका मूर्तिहरू ल्हासाको टाला-लु-फुक पर्वतको गुफामा पनि रहेको छ।

यो रिग्सुम गोन्पो त्रिकुलनाथको बौद्ध सांस्कृतिक अवधारणा नेपालको काठमाडौं स्थित इटुम्बहाल र नुवाकोट जिल्लाको सात तले दरबार नजिकका टुंडिखेलको कुनामा रहेको सरस्वति स्थान(मंजुश्रीको देवस्थान)मा पनि रहेको छ। यो स्थानको पुरानो नाम 'महामण्डल' अर्थात् महाविहार हो। प्राचीन महाविहारको अवशेष जहाँ मंजुश्रीको संकेत खडग् देवल, बज्रपानी बुद्ध चतुर्वाहु गणेश, र लोकेश्वर, महांकालको देवल एकै लहरमा रहेका छन्। यहाँ रहेका पुरातात्त्विक महत्वका प्रस्तर एक फलकमा महा-विहार रहेको संकेतका रूपमा दुई मृग र बिचमा धर्मचक्र कुँदिएको भेटिनुले यो क्षेत्र  महाविहार (महामण्डल) अर्थात् गोन्पा क्षेत्र हो भन्ने पुष्टि भएको छ। यहाँ लिच्छवी शैलीका पुरातात्त्विक सम्पदा चैत्यहरू रहेका छन्। यो प्राचीन बौद्धसांस्कृतिक त्रिकुलनाथ परम्परा भएको कुरा, बौद्ध तथा कला-शैलीका विज्ञ त्रिविका पूर्व बौद्ध अध्ययन विभागका प्रमुख हाल संस्कृति विभागका सह-प्राध्यापक डाक्टर मिल रत्न शाक्यले बताउनु हुन्छ।

चिनिया तिब्बती स्रोतहरूमा यस नुवाकोट दरबार क्षेत्रलाई 'बालबोजोङ वा बालबुजोङ भनी उल्लेख गरिएको छ (पराजुली)। यसको अर्थ बहाल/बहील/विहारको देश/किल्ला हुन्छ । बाल्बो या बाल्बुको चिनिया उच्चारणमा पाल्पो वा पाल्पु हुन्छ। नेपाल अर्थात् काठमाडौ उपत्यकालाई बाल युल भनिएको छ (स्नेलग्रोभ)। भृकुटीलाई बालस्य्हा, बेलसाख्रीचुङ उल्लेख गरिएको पाइन्छ (टासी, छेतेन र अन्य)। भृकुटीदेवीलाई यसो भन्नुको अर्थ पनि बालयुल अर्थात् विहारको देशको रानी भनिएको हो।

यसै गरी तिब्बतमा अरनिकोको नाम बालबु (चिनिया उच्चारण पालपु) उल्लेख पाइन्छ (जोशी)। यहाँ 'बु' सर्गले बासिन्दा वा थाकथलो वा घर भन्ने अर्थमा प्रयोग भएको छ। यो हिमालय क्षेत्रको भाषाभाषिकाहरूमा विशेष 'बो', 'बा' र 'पा' सर्ग वा प्रत्ययको प्रयोग गरिएको पाइन्छ। यस्तो सर्ग र प्रत्येयको प्रयोग किरोङपा, बोइपा, दोल्बु, दोल्बो, दोल्पो (डोल्पा), रोल्पा, पाल्पा, मनाङबा, चुम्बा, बालबुपा आदि बासिन्दा बुझाउन प्रयोग भएको पाइन्छ। तिब्बतमा विकसित छुट्टो बौद्ध सम्प्रदाय जेन्तोङ र जोनाङपा नामको पर्यायका रूपमा डोल्पोपा अर्थात् दोल्बु बुद्ध, नेपालको डोल्पा जिल्लाका निबासी हुन त्यसैलै यी सिद्ध पुरूषलाई दोल्बुपा सम्बोधन गर्ने गर्दछन्(स्टिनर्स)।  यसरी बा, बु, बो, र पा सर्ग जोडिएर  बासिन्दा, निवासी, र घर भएको स्थान थाकथलो बुझाउन भाषाका प्रयोग भएको पाइन्छ। 'बाहाल युल' अर्थात् विहार(बौद्ध मन्दिर)को देश वा बौद्ध मन्दिरको देश बुझाउने संज्ञासँग जोडिएर देश बासी अर्थात् बासिन्दालाई बुझाउन अरनिकोकोलाई बालबु, पालपु वा बाल्पु, बाल्बु उल्‍लेख गरिएको पाइन्छ। नेपाल निवासी, बासिन्दा, र नेपाल घर भएको भनि उल्लेख पाइन्छ।

'मोनाष्ट्रिज अफ नेपाल' पुस्तकमा कृतिकार जोन के लकले नेपाल अर्थात् काठमाडौं उपत्यका भित्रको बाहाल र बहिलहरू अर्थात् नेवार विहार/बौद्ध गुम्बाहरूको र यसका शाखा, प्रशाखाहरूको विवरण दिएको छ। त्यसैले काठमाडौं उपत्यकालाई नेपाल सम्बोधन गरिएको छ। त्यसकारण नेपाललाई 'बालयुल' भन्नुको तत्पर्य बाहाल र बहिलको देश अर्थात् विहारको देश भनिएको हो।

तिब्बतमा नेपाललाई ने तीर्थको देश भनेर पनि चिनिन्छ। यहाँ ने को अर्थ तीर्थ तथा पवित्र स्थान सुद्धदेव स्थान, देवहरूको स्थान बौद्ध मन्दिर बाहाल, बहिलहरूको देश बाल युल नै हो, तिब्बती तथा तामाङ भाषामा तीर्थलाई ने नै भनिन्छ। तामाङहरू बोदकी नेसुम(भोटको तीन तीर्थ), बालयुलकी नेसुम(नेवारदेशको तीन तीर्थ) र ग्याकर युलकी नेसुम (भारतीय तीनतीर्थ) को उल्लेख गरेको पाइन्छ (पाख्रीन)।

तसर्थ नेपाल देसीयनाम नेबाहालबाट 'नेबाल', 'नेपाल' (बाहालबाट तिब्बतीमा बाल र नेपालभाषामा बाहाः व्युत्पत्ति भइ नेपालभाषामा बौद्ध विहार बुझाउने शब्दको प्रयोग भएको छ) उपत्यकालाई तिब्बतीमा गोन्पा तीर्थको देश बुझाउन 'नेबाल' को चिनिया उच्चारणमा 'नेपाल' र 'निपोर' व्युत्पत्ति भएको देखिन्छ (तामाङ)। यसरी ऐतिहासिक भाषाविज्ञानका व्युत्पत्ति क्रमको यो तथ्यलाई पुष्टि गर्ने थप उदाहरण, तामाङभाषामा भक्तपुरलाई 'खोप्रीङ' र 'खोपाङ' भनिन्छ भने खोपाङबाट आजको नेपालभाषामा 'खोप' (भक्तपुर) हो।

यस्तै किर्तिपुरका 'चोबाहाल'(टाकुराको विहार) बाट 'चोबाल' चोःबाहाः बाट 'चोभार' भएको जीवन्त अर्को उदाहरण हो।, यस्तै काठमाडौंको प्राचीन नाम पनि याम्बुक्रोमा, याम्बुक्रमा, याम्बुब्रुम र याम्बु हो (रेग्मी)। तामाङ, शेर्पा, योल्मो आदि जनसमुदायको भाषामा नेपाल उपत्यकालाई याम्बु नै भनिन्छ भने नेपालभाषामा येँ  हो। यी उदाहरणहरूले नेबाहाल, नेबाल, नेपाल हुन आएको तर्कलाई पुष्ट्याइ गर्दछ। काठमाडौं उपत्यका प्राचीन बस्तीको मुख्य क्षेत्रसबै खोतल्दा अझै ऐतिहासिक रूपमा बाहाल(बहाः) र बहील (बहीः) विहार धार्मिक स्थलहरूले नै ओगटेको पाइन्छ। तसर्थ बाहालहरूको तीर्थ बुझाउने तिब्बती अर्थमा 'नेबाल' र नेवाल हुन्छ। यसैको चिनियाभाषाको व्युत्पत्ति 'नेपाल', नेपार, निपोर हुन्छ। किने भने चिनिया भाषामा को , र को उच्चारण हुन्छ। त्यसकारण 'नेबाल' बाट नेपाल देशीय नाम रहन गएको हो।

आजको काठमाडौं नै प्राचीन नेपाल देश हो। गोर्खाली औपनिवेशिषक विस्तार हुनु अघि सम्म काठमाडौं उपत्यकालाई नेपाल नै भनिन्थ्यो। खोपाङ(भक्तपुर)लाई खोप भने झैं नेपाल(काठमाडौं)लाई नेपाः भनिन्छ। नेपालको यही बौद्ध सम्पदाको विस्तार प्रभाव काठमाडौंको केन्द्र इतुंबाहाल देखि, नुवाकोट हुँदै किरोङ र ल्हासा तिब्बतको राजधानीसम्म रहेको माथि चर्चा गरी सकेको छु।

नेपाल चीनको परम्परागत व्यापारिक नाकामा रहेको यो रिसुम गोन्पोको प्रस्तर कलाको नमूनाले नेपाली शैलीको कला पाइनुले यी मूर्तिहरू बनाउँदा नेपाली कलाकारहरु पनि संलग्न होलान् भन्ने चिनिया पूरातत्त्व वेत्ता वेइको अनुमान छ। केरोङ शहरमा रहेको प्राचीन आनी गोन्पा र पाङसीङमा रहेको गोन्पाको वास्तुशैली पनि नेपाली शिखर शैलीको रहेको छ। यसले पनि केरोङसँग नेपालको बौद्ध सांस्कृतिक सम्बन्ध प्राचीन काल देखिने रहेको देखाउँछ।

चीनमा རྟ་དམག་ तामाग/Da mag/दामन वा तामाङ गाउँ भ्रम र सत्यः

बहुचर्चित नेपाल र चीनको रेल आइपुग्‍ने सीमानाको प्राचीन शहर किरोङ/केरूङ देखि लगभग ५ किमि दुरीमा पाङसिङ रहेको छ। चीनको सिगात्चेबाट नेपाल तर्फको आउने चिनिया रेलवे स्टेसन तथा सुक्खा बन्दरगाहा पाङसीङमा बन्दै गरेको छ। केरूङबाट पाङसिङ तर्फ जाँदा बाटैमा पहिले छोङदी गाउँ आउँछ। यो गाउँकै छेउमा प्राचीन र ऐतिहासिक रिसुम गोन्पो रहेको छ। यो रिसुम गोन्पा रहेको गाउँ छोङदी देखि अझ थोरै अगाडीको बस्ती नेपालका कामी विश्वकर्माहरूको चिनिया सरकारले बनाइ दिएको व्यवस्थित नयाँ गाउँ छ। स्थानिय जन भाषा वा केरोङक्येइ अर्थात् केरोङभाषामा यो ठाउँलाई  'लुङटाङ' भनेर भनिन्छ। यो लुङटाङ त्यसक्षेत्रको पुरानो दाहासंस्कार गर्ने स्थान दुर्सा गाङ अर्थात् मरानघाट थियो, त्यहाँका स्थानीय केरोङबासी पाम्पो (प्रधान) बताउँछन्। त्यो नयाँ बस्तीमा ५० देखि ६० घरपरिवार नेपाली विश्वकर्मा दलितहरूको बस्ति छ। केरोङका स्थानीयहरूले आजभोली पनि यी विश्वकर्माहरूको बस्तीलाई कामी गाउँ भनेर चिन्दछ उनीहरूलाई विश्वकर्मा भनेर थाहा छैन। चिनिया सरकारले यो नयाँगाउँलाई 'दामान'  र तिब्बतीभाषामा 'र्तामाग' རྟ་མག་ भनेर नामकरण गरीदिएका छन्। लासा-सिगात्चे तर्फ जाने मुल सडकमा यही नाममा संकेत बोर्ड समेत लगाएका छन्।

को हुन त? यी 'र्तामाग' दामानहरू। यीनीहरू आजभन्दा २०-२५ वर्ष अघिसम्म आजको केरोङ शहरको कुनामा भाँडा वर्तन, कुटो, कोदालो आदि औजार तथा हतियारहरू बनाउने, मर्मत गर्ने वर्कसप आरन थापेर बसेका थिए। केरोङका एक नेपाली व्यावसायी चन्द्रतामाङ बताउँछन्। चिनिया सरकारले केरोङ शहरको योजना बद्ध विकासको सिलसीलामा यो फलामका काम गर्ने आरन सहितको बस्तीका यी नेपाली मानिसहरूलाई हाल लुङटाङमा सारिएको स्थानीय जनप्रतिनिधिले बताए। यो बस्तीका मानिसहरू पेशाले फलामका भाँडा वर्तन, हात हतियार बनाउने बेच्ने गर्धछन्। स्थानीय केरोङपा तिब्बतीहरूले भने नेपालमा झै उनीहरू 'कामी' नै भनेर चिन्छ र, दलित कै व्यवहार गर्ने गर्दछन्। खुसिको कुरा यीनीहरूलाई चिनिया सरकारले हालसालै རྟ་མག་ Damag "दामान" जाति भनेर नागरिकता समेत दिएको चिनिया राष्ट्रिय टेलिभिजन सिजिटिएनले बताएको छ। यो बस्तीमा अहिले दुई चिनियाहरूले पसल समेत थापेका वाहेक अरू किरोङपाहरू प्राय काम नपर्दा जाँदैनन् स्थानीय कीरोङपाले र चन्द्र तामाङले बताए।

यो नेपाली (कामी) बस्तीमा  केही वर्ष अघिसम्म यिनीहरूले नेपालमा मनाउने सबै खालको हिन्दू पर्वहरू नै मनाउँथे रसुवाबाट व्यापारका सिलसीलामा पासिङमा लामो समय देखि बस्तै आएका एक नेपाली व्यापरीले भने। स्थानीय पाम्पो ल्हाक्पा (नाम बदलिएको) बताउँछन्। यीनीहरू नेपालबाट आएका हुन्। यिनीहरूको समुदायमा मृत्यु हुँदा लासलाई खोलामा लगेर खुट्टा पानीमा चोपल्ने र जलाउने गर्दछन्। जुन तिब्बती केरोङपाहरूले गर्दैनन्। अझै पनि गाउँमा फलामको काम गर्ने आरन छ। भाँडा बनाउने काम गरि रहेका छन्। यीनीहरूले तिब्बती या नेपाली बौद्ध धर्म पनि मान्दैन, पम्पो थप्छन्। यीनीहरूको नाक लामो र चुच्चो, अनुहार पनि नेपाली बाहुन क्षेत्री जस्तो छ। तिब्बतीको जस्तो छैन। तर यीनीहरूले नेपालीभाषा बोल्न जान्दैन। तामाङभाषाको त कुरै रहेन। अचेल यीनीहरूले तिब्बती केरोङभाषा नै बोल्छन्। नेपालको हिन्दूचाड मनाउन छाडेको पनि यो धेरै भएको छैन। सरकारको निर्देशन पछि चिनिया राष्ट्रिय चाडहरू मनाउन थालेका एक स्थानीय कीरोङपाले भने पाङसीङमा होटेल व्यवसाय रहेका चन्द्र तामाङ(नाम बदलेको) नेपाली व्यापारी बताउँछन्।

यीनीहरूको बारेमा हालै एक चिनिया नेपालीभाषा बोल्ने महिलाले भिडियो चित्रमा प्रस्तुत गरेको र भनेका विषयबस्तु भ्रमपूर्ण र अपुरा छन्। नेपालमा तामाङका बारेमा बाहिरिया अन्वेषकहरूले अनुमान लगाइ भन्ने गरिएको तामाङहरू त तामाग, तिब्बती घोडाचढी सेना हो भने जस्तै तर ठिक बिपरित नेपालबाट तिब्बतीसँगको युद्धको समयमा त्यहाँ पुगेका རྟ་མག་  'र्तामग', दामानहरू हुन, दा को चिनिया उच्चारण ता हुन्छ तर 'र्ता' भनेको तिब्बतीभाषामा घोडामाग भनेको सेना अर्थ्याएर तिब्बतीभाषामा घोडाचढि सेना भन्ने व्याख्या गरी 'तामाङ' भएका भन्ने आसयमा सन्चार कर्मिले भनेका छन्। यहाँ एउटा अनुत्तरित विषय तिब्बती घोडाचढी सेना नेपाल आएर बसेका नेपाल आउँदा पनि तामग नै तामाङ भएका हुन भनेर लेखकहरूले तथ्यगत आधार बिना नै हचुवामा नै लेखि दिने र भनि दिने, नेपालका तामाङहरूले यसलाई सन १०५६ मा नै अस्विकार गरेका छन्(हेर्नुहोस; ताम्बाईतेन, व्हाई रीमठीम)। नेपाली कामी जाति आफ्नो पुर्खौली पेशा गर्दै लामो समयदेखि जो चिनिया तिब्बती क्षेत्र केरोङमा बस्दै आएका छन् नेपालबाट माथि तिब्बततिर जाने यी कामीहरू पनि घोडा चढि सिपाही तामग (दामाङ) वा तामाङ हुन् भनेर भन्नुले नेपालमा बसोवास रहेका आदिवासी बौद्ध जाति तामाङ र हिन्दू धर्मालम्बि फलामका काम गर्दै आएका कामी जातिलाई एउटै अर्थमा व्याख्या गरिएको चिनिया संचार माध्य सिजिटिएनको भिडियोमा बताएको तर्क अमिल्दो  र वनावटि रहेको छ। केही तामाङहरूले पनि तामाङहरूको उत्पत्तिस्थान वंशावलीहरूमा चीनबाट (तामाङहरू ग्यानाक भनेर भन्दछन्)  आएको उल्लेख गरिएका पाईन्छ। तर करोङका कामी जाति वा नेपालका तामाङहरू घोडा चढी सेना हुन भन्ने विषयमा भने यस तर्कको पुष्टि हुने कुनै ऐतिहासिक प्रमाण अझै कतै पनि भेटिएको छैन। तिब्बती राजा स्रङचाङ गाम्पोका घोडाचढि सेना तामग नै यतै बसेर तामागबाट तामाङ भए भन्ने विषयमा तामाङहरूले सन १९५६ मा ताका नै तामाङहरू तामाग རྟ་དམག་ (घोडा सेना)बाट व्युत्पत्ति भएको होइन भनेर ताम्बा काईतेन व्हाइ रिमठीम पुस्तकमा सन्तबीर पाख्रीनले तामाङ शब्द तामाग (तिब्बती घोडाचढि सेना)बाट निर्माण भएको भन्ने कुरा गलत भएको बताएका छन्। तसर्थ तामागबाट तामाङ भए भन्ने भ्रमात्मक र कृतिम कथा हुन्। कीरोङका लुङटाङ बस्तीका नेपाली फलामका काम गर्ने कामी जाति जसलाई केरोङका पुराना बासिन्दा र जानकारहरू अझै कामी नै हो भनेर भन्ने  ठोकुवाका साथबताउँ छन्। चिनिया सरकारले Da mag 'दामान' भनेर नामकरण गरि दिएका छन्। हालै चिनिया संचार माध्यममा प्रशारण भई हाल समाजिक संजालहरूमा राखिको भिडियोमा चीनको किरोङका 'दामान'हरु को कथा घोडाचढी सेनाको कथा यथार्थमा आधारित छैन। यो तर्कको प्रमाण भेटिन्दैन। यिनीहरू तामाङ होइन भन्ने बारे बुझ्न किरोङमा लामो समय देखि होटल व्यवसाय गरी बसेका जो कोहि नेपालीहरूसँग र पुराना केरोङबासी तिब्बती जोकोहीसँग सूचना लिएर हामीले यो भ्रमलाई निवारण गर्न सकिन्छ। तिब्बतीभाषामा लेखिएको རྟ་དམག་ र्तामाग जसको उच्चारण तामग हुन्छ चिनियाले 'दामान' लेखेर 'तामाङ' भनिएकाहरू घोडाचढि सेना र तामाङ जाति दुवै होइन। उनीहरू कामी जातिका नेपाली हुन् ।

नेपालले चीन तथा तिब्बतीसँग लडाई हारेर बन्दी बनाइएहरू भन्ने कथा पनि सत्यको नजिक देखिन्दैन। लाडाई हारेको केरोङमा मात्र होइन नुवाकोटको बेत्रावतीमा हो। वेत्रावती सम्म चीनीया सेना आएको हुँदा नेपाली घोडाचढी सेनाहरूको दलितहरूकोको यो झुण्ड डफ्फा झण्डै डेढ दिनको बाटो हिंडनु पर्ने किरोङमा छाडेको वा छुटेर बसेको भन्ने तथ्य नेपाल तथा इतिहासमा देखिन्दैन हेर्नुस् (मानन्धर ), (आचार्य) । सन १८४९ को बेत्रावती सन्धीमा नेपालले वेत्रावतीमा संधी हुँदा कीरोङ तर्फ नेपाली सेना तर्फका कोही छुटेको बारे कुनै पनि अहिलेसम्म प्राप्‍त सामग्रीले बताउँदैन्। यीनीहरू फलामका औजार, बनाउने, मर्मत गरिदिने व्यापारको सीलसीलामा नेपालबाट कीरोङ पुगे र त्यतै आरन थापेर बसेको हुन सक्छ। कामी भन्दा अछुत दलित जातिको भनिने भएकाले ढाकछोप गर्ने, दलित होइन भन्नाको लागि मनोवैज्ञानिक भावनाबाट प्रेरित भइ किरोङका चिनिया नेपाली मूलका कामीहरूले चिनिया सरकारी अधिकारीहरूलाई हामी तामाग (तामाङ) हौं भनेर लेखाएको हुन सक्ने सम्भावना देखिन्छ। तिब्बती भाषामा མགར་བ་ हरू लाई ལྕགས་རིགས་ཀྱི་ཡོ་ཆས་བཟོབ་། अर्थात् फलामका काम गर्ने कामी यसैगरी अंग्रजीमा पनि ལྕགས་

བཟོབ་།  को अर्थ blacksmith (कामी) नै दिएको छ (हेर्नुहोस्; Amnyi Trulchung Rinpoche, तथा Tim Lewis द्वारा निर्मित मोबाइल एपस्) । किन भने आजको आधुनिक समाजमा पनि अझै नजिकैका नेपाली तामाङ र तिब्बती किरोङपाहरूले अहिले अझैसम्म यि चिनिया नागरिकता पाएका नेपाली कामी जातिका चिनिया नागरिकहरूलाई अछुतको व्यवहार गर्न छाडेका छैनन्। यि चिनिया नेपाली मूलका नागरीकहरूलाई चीन सरकारले नयाँ बस्ती निर्माण गरी केरोङ शहरबाट अलिपर पाङसिङ नपुग्दै लुङटाङमा सारिएको छ।

अझै केरोङमा तामाङभाषा बोल्ने तिब्बतहरू समेत रहेको अवस्थामा तामाङहरूको संस्कार, संस्कृति र धर्म, शाररिक बनोट समेत नमिल्ने र तामाङभाषाको समेत जानकारी नभएका अज्ञात समयमा केरोङ पुगेका फलामका काम गर्ने यो कामी बस्तीलाई 'चीनमा तामाङ गाउँ फेला परे' भनेर भनिएको विषय भ्रामक झुटो हो।

तामाङ जातिको र कीरोङका नेपाली मूलका चिनिया नागरिकहरूको बारेमा तथ्यपरक अध्ययन नगरी र्तामाग भनिएको पनि तथ्यपरक देखिन्दैन किन भने तिब्बती भाषामा "རྟ་དམགར་ र्तामगर" लेखिएको र भनिएको भए (फलामको काम गर्ने अर्थ दिन्छ) लेखिए अनुसार उनीहरूको शारिकरिक रुप रंग, पेशा र नेपालको पुर्खौली कामी जातिसँग मिल्छ पनि। तर རྟ་དམགར་ का ठाउँमा རྟ་དམག་ लेखेर घोडाचढी सेना भन्ने अर्थमा मोडिएको भनाइले तिनीहरूले फलामको काम गर्नेबाट 'घोडाचढी सेना' भनेर भनेकाले अध्ययन नै नगरी विषयवस्तुको तयारगरिएको हुनाले केरोङका फलामका काम गर्ने नेपालीमूलका चिनियाहरू  དམགར་བ་ र्तामगर हुन्। རྟ་དམགར་ वा རྟ་དམག་ र तामाङ होइनन्। चीनमा तामाङ गाउँ फेला भन्ने सिजिटिएन टेलिभिजनमा प्रशारित भिडियोका आधारमा गरिएको कुरा भ्रम र झुटो हो। यो भ्रम निवारण होस र तथ्यगत सत्यको जानकारी दिने उद्देश्यले यो शोध तयार गरिएको हो। (पंक्तिकारले सन २०१७ मा यसक्षेत्रको स्थलगत भ्रमण अध्ययन गरि सकेको र हालैका दिनमा केरोङमा व्यवसाय गर्ने, ल्हाक्पा लोवेन, गोलजोङ, चन्द्र तामाङ आदि नेपालीहरू र केरोङ निवासीहरूसँगको फोनमा प्रत्येक्ष सम्वाद समेत गरी यो लेख तयार गरिएको हो)

थुजेछे।

वर्क साइटेड

आचार्य, बाबुराम, चीन तिब्बत र नेपाल, फाइनप्रिन्ट बुक्क, २०१७।

"इथ्निक ओररिजिन अफ तिबेटन"/ "Ethnic Origin of Tibetan". Eastasiaorigin.Blogspot.Com, 2017, http://eastasiaorigin.blogspot.com/2017/09/ethnic-origin-of-tibetan.html. Accessed 18 Aug 2020.

"एन्सिएन्ट बुद्धिष्ट क्लिफ कार्भिङ फाउण्ड इन चाइना-सिन्ह्वा।इङलिस न्यूज सिएन"/ "Ancient Buddhist Cliff Carvings Found In China - Xinhua | English.News.Cn". Xinhuanet.Com, 2019, http://www.xinhuanet.com/english/2019-08/25/c_138337424_2.htm. Accessed 20 Aug 2020.

ड्रिम, जर्ज भ्यान"/Driem, George Van. "Origin of Sino-Tibetan Tribes". Eastasiaorigin.Blogspot.Com, 2020, http://eastasiaorigin.blogspot.com/2018/08/origin-of-sino-tibetan-tribes.html. Accessed 19 Aug 2020.

जोशी, सत्यमोहन, कलाकार अरनिको, विजय गजानन्द बैद्य, १९८७।

टासी, छेतेन र अन्य, सम्पादित, बोइक्यि ल्होर्ग्यु दुइसाल मेलोङ, बोइजोङ मि माङपे कुनखाङ, चीन, २०१४।

/བོད་ཀྱི་ལོ་རྒྱུས་བ་སྡུས་གསལ་མེ་ལོང་།. བོད་ལྫོངས་མི་དམངས་ད་པེ་སྐྲུན་ཁང་། རྒྱ་ནག་།, ༢༠༡༤.

तामाङ, अजितमान, "'नेपाल' शब्दको उद्‍भव बारे बुद्धिष्टिक दृष्टिकोण: लघु अध्ययन", २०१७।

तामाङ, रामसिंह, उत्तरी धादिङको तामाङ संस्कृति, आदिवासी जनजाति समन्वय समिति, जि.वि.., धादिङ, २०१२

पाख्रीन, सन्तबिर लामा, ताम्बा काअीतेन ह्वाअी रीमठीम, रत्‍न पुस्तक भण्डार, २०१७

पराजुली, पुण्य प्रसाद, "उत्तरी नेपालको तिब्बतीभाषा बोल्ने समुदाय", २०१९।

मानन्धर, विजय कुमार/Manandhar, Vijay Kumar. Cultural and Political Aspects of Nepal-China Relations. Adroit Publication Delhi, 1999.

---, A Documentary History of Nepalese Quinquennial Mission to China 1792-1906. Adroit Publishers, 2001.

---, A Comprehensive History Of Nepal-China Relations Up To 1955. Volume I. Adroit Publishers, 2004.

रिन्पोछे,आम्ङ्यी टुलछ्युङ, र टिम लेविस/ Rinpoche, Amnyi Trulchung, Tim Lewis. Tibetan(Mobile app). www.phurba.net. Accessed 16 Aug 2020.

रेग्मी, जगदिस चन्द्र, काठमाडौं शहरको सांस्कृतिक अध्ययन, काठमाडौं, २०१७

लक, जोन के,/Locke, John K. Buddhist Monasteries of Nepal. Sahayogi Press Pvt. Ltd, 1985.

लामा, शंखबुद्ध, काल्पाला ल्होर्ग्युइ छ्योइताम म्हाने गाम्बु, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, २०१६।

वेइ, हुओ/ Wei, Huo. "Witness of Cultural Exchanges Between China And Nepal: The Combined Statue of Risong Gonpo in Kyirong". China's Tibet, 2019, pp. 56-59, http://en.tibetmagazine,net. Accessed 15 Mar 2019.

सांकृत्यायन, राहुल, तिब्बत मे बौद्ध धर्म, किताब महल, इलाहाबाद, २००३।

स्टिनर्स, साइरस/Stearns, Cyrus. The Buddha From Dolpo. Motilal Banarasidass, 2002.

स्नेलग्रोभ, देभिड/Snellgrove, David. Four Lama of Dolpo. Himalayan Book Seller, 1992.

शर्मा, बालचन्द्र, नेपालको ऐतिहासिक रूपरेखा, 3rd ed., कृष्णकुमारी देवी, १९७६।

शेर्पा, निमा छिरिङ, बुद्धं शरणं गच्छामि, शेर्पा बौद्ध संघ, लेबोङ्ग, दार्जिलिङ्ग, १९९९।

हुगहस, स्टुआर्ट/Hughes, Stuart. "The Life Stories of Padmasambhava And Their Significance for Tibetan Buddhists". Core.Ac.Uk, 2012, https://core.ac.uk/display/36241844. Accessed 16 Aug 2020.

Comments