Indigenous name of Mt.Everest

विश्वको सर्बोच्च शिखरको स्थानिय नामः 'चोमोलुङमा'
अजितमान तामाङ
tamang.ajitman@gmail.com

विश्वको मानचित्रमा नेपाललाई महामानव एशियाको ज्योती भगवान शिद्धार्थ गौतम बुद्धको जन्मभूमि र विश्वकै सर्बोच्च शिखर 'चोमोलुङमा' अर्थात उर्फ सागरमाथा भएको भूमि वा देशको रुपमा चिनिन्छ। चोमोलुङमाको उत्तरी मोहडा पिट्ट पनि मित्र राष्ट्र चीनमा चीनिया तिब्बती भाषामा 'चोमोलुङमा'नामबाटै यो विश्वको सर्वोच्च शिखरलाई पुकारिन्छ।
यहाँको आदिवासीहरुको भूक्षेत्रहरुमा रहेको प्राकृतिक सम्पदा, बन, बन्यजन्तु, जडीबुटी, पहाड, नदिनाला, तालतलैया, झरनाहरु, धार्मिक तथा सांस्कृतिक स्थलहरुको महत्व, उयोगिता, नाम र ऐतिहासिकता आदिका बारेमा स्थानीय आदिवासी जनजातिका भाषाहरुमा हजारौं वर्षदेखि मौखिक रुपमा भएपनि संरक्षित भइआएको पाइन्छ। नेपालबाट विदेश समुन्द्रपार जाने प्रत्येक नेपालीले आफ्नो चिनारी दिंदा प्रायः आफूलाई विश्वशान्तिका अग्रदुत गौतम बुद्धको जन्मभूमि र सुन्दर हिमालय एवं विश्वको सबैभन्दा आग्लो टाकुरो वा चुचुरो (Mt. Everest) भएको देशबाट आएको भनेर गर्वका साथ चिनाउय्.त्र्ने गरिन्छ।
चोमोलुङमा र बुद्धका पावन जन्म भुमि नेपालको यस्तो महत्वपूर्ण प्राकृतिक तथा सास्कृतिक सम्पदाहरु हुन जसले नेपालको गौरब, नेपालको पहिचान तथा नेपालको पर्यटन उद्योगको मुख्यआधार एवं विदेशी मुद्रा आर्जन गर्ने आर्थिक विकासका स्थायी श्रोत बनेको छ। विश्वमै नेपालको मौलिक पहिचान दिने यी प्राकृतिक धार्मिक, सांस्कृतिकसम्पदाहरुको नेपालको आदिवासी जनजातिहरुसंग युगौयुग देखि अन्योन्याश्रीत सम्बन्ध रही आएको छ। विश्वको सर्बोच्च शिखर 'चोमोलुङमा' (Mt. Everest) भकत लगायत सम्पूर्ण हिमशिखरहरु आदिवासी जनजातिहरुको मुख्य भूक्षेत्र भित्र नै पर्दछन्।
नेपालको हिम शिखरहरु जति पुराना छन्, त्यसैगरी यहाय्.त्र्का आदिवासी जनजातिहरु पनि पुरानो बासिन्दा हुन भन्ने कुरा यहाय्.त्र्का आदिवासी भूमिपुत्रहरुकै भाषामा ती हिमालहरुको नाम रहेको पाइनुले नै पुष्टि गर्दछ। नेपालमा खसभाषामा हिमालहरुको नामाकरण अभियानलाई केलाउँदा लगभग ५० वर्ष नाघेको छ। विश्वको सबैभन्दा अग्लो हिम शिखरको अंग्रेजीमा र खसभाषामा नामाकरण हुनु भन्दा पहिले देखिन नै स्थानीय जनजातिका भाषामा 'चोमोलुङमा' (ज्ह्योमोलुङमा) नाम प्रचलनमा रहेको कुरालाई सोह्रौं शताब्दीमा इटालियन (Exploration of Jesuit missionaries) मिसनरीहरुले चीनका लागि तिब्बतको सर्भे गरेको थियो (हर्क गुरुङ)। यो सर्भेमा थुप्रै हिमशिखरहरु मध्ये 'चोमोलुङमा' स्थानीय नाम रहेको हिमशिखर पनि थियो। जो पछि विश्वको सबैभन्दा अग्लो हिमशिखरको रुपमा परिचित भए।
नेपालको आदिवासी जनजातिहरुको भाषामा र चीनिया तिब्बती भाषामा विश्वको सर्बोच्च शिखरको नाम एउटै रहेको छ। तसर्थ यसले चीनिया जनता र नेपालको उच्च पहाडी हीमाली क्षेत्रको जनता बीचको अगाढ मैत्री सम्बन्धलाई अझ भावनात्मक रुपमा निकट र मजबुत बनाउन सघाएको छ। तसर्थ यहाँ नेपालको उच्च पहाडी हिमाली आदिवासी जनजातिका भाषामा विश्वको सर्बोच्च शिखरको स्थानीय नाम र उचाइका सम्बन्धमा पाइने मौलिक मान्यता बारे, खोतल्ने प्रयास गरिएको छ।
आज पनि नेपालका हिमालय प्रदेशमा बसोवास गर्ने अधिकांश हिमाली जनजातिहरु तामाङ, शेर्पा, योल्मो, भोटे र तिब्बती मुलकाहरु, खम्बु क्षेत्रका बान्तवा लगायत राइ भाषाहरुमा पनि विश्वको सर्वोच्च शिखरलाई 'चोमोलुङमा'नै भनेर पुकारिन्छ। (हेर्नुहोस् तिब्बती, तामाङ, शेर्पाभाषाका शब्दकोशहरु तथा डिक बान्तवा द्वारा सम्पादित वान्तावा भाषाको शब्दकोश)। विश्वको सर्वोच्च शिखर चोमोलुङमाकै नामबाट 'चोमोलुङमा' र 'नव चोमोलुङमा' (२०५७) दुइवटा स्थानिय पत्रिका पनि प्रकाशित भइसकेको छ।
त्यसैगरी नेपालको उच्च पहाडी हिमाली क्षेत्रमा बसोवास गर्ने सबैभन्दा धेरै जनसंख्या भएको आदिवासी जाति 'तामाङ' हो। तामाङभाषामा दार्जेलेक्पा, लारी, लाङटाङ, लाराङलुरुङ, चोयु, बापील, लाङबोकार्पो, चेङाछीरीङ (पन्ध्र पर्वत) भित्र 'चोमोलुङमा' लगायत थुप्रै उच्च हिमशिखरहरुको नाम रहेको पाइन्छ। तामाङभाषाका गीतहरुमा हिमालहरुको नाम र तिनको महत्वका बारेमा पनि यदाकदा वर्णन गरेको प्रसस्तै सुन्न पाइन्छ।
यस्तै मध्ये अवशेषका रुपमा भेटिएको एउटा गीतको अंश यस्तो छ '....बापील, लारी, लाङटाङ थेन लाराङलुरुङ, ग्योङले, दोर्जेलेक्पा चोङ्ले ...चेङा छीरीङ चोमोलुङमा चोङले,......' गीतको यो अंशले विश्वको सर्वोच्च हिमशिखर सँग प्रत्यक्ष सरोकार राख्दछ। यसको खसनेपाली भावअनुवाद यस्तो हुन्छ 'बपील, लारी, लाङटाङ र लाराङलुरुङ अनि दोर्जे लेक्पा झुम्म बसेको...उचोमा १५ हिमालहरुका प्रमुख हिम पहाडकी देवी धरतीमाताकी सर्बोच्च....छिन्....।' अर्थात चेङाले १५ अर्थात XV र 'छीरीङ' ले 'दिर्घायु अटल, अमर, अजर, सर्वोकृष्ट' भन्ने अर्थ बुझाउँछ। अंग्रेजी भाषाको माउण्ट एभरेष्ट भन्ने नामाकरण गर्नु अघि र वैज्ञानिक मापन विधिबाट उचाइ तय हुनु भन्दा पहिले र उचाइ तय भइसकेपछि पनि केहि समय सर्भेयरहरुले पत्ता लगायका हिम शिखहरुको नाम स्थानिय आदिवासीहरुले तिनका उचाइ संग मिल्दोजुल्दो प्रकारले नामाकरण गरेको तथ्य यो अध्ययनले पुष्टी गरेको छ। संन्जोक कुरा त सन १८५२ देखि १९६५ सम्म पनि सर्वोच्च शिखर आसपासका विश्व कै अग्ला १५ शिखरहरुलाई सामूहिक रुपमा भन्दा यहि 'चेङा छीरीङ' Mt. XV नामको प्रयोग गरिएको पाइन्छ। यो तामाङभाषाको हिमालय माला गीतमा वर्णन गरिएको विश्वको सर्वोच्च शिखरहरुको सर्वनाम चेङा छीरीङ संग मेल खान्छ।
गीतको अंशमा चोमोलुङमासँगै प्रयोग भएको 'चेङा छीरीङ' ले शास्त्रीय तामाङभाषामा पन्ध्र दिर्घायु चुचुराहरु भन्ने बुझाउने हुँदा, विश्वको सर्वोच्च शिखरको गणितीय विधिद्वारा वास्तविक उचाइ मापन गर्ने बेलायतका सर्भेएरहरुले पत्ता लगाएका शिखरहरुको संख्या वा नामाकरणको गर्दा पनि यसैको अनुवाद गरी रोमन संख्या पद्धतीबाट Mt. XV नामाकरण गरेको हो । चोमोलुङमा वरिपरी रहेका १५ उच्च पहाड अर्थात् हीम शिखरहरु मध्ये सवैभन्दा अग्लो, उचो, सर्वोच्चो बुझाउने अर्थात् ती टाकुरोहरुको प्रमुख वा नायक (चो वा चोहो, चोबो) 'चोमोलुङमा' हो।
यो विश्‍वको सर्वोच्चो सिखरको चोमोलुङमा नाम शब्दलाई विन्यास गरेर हेर्दा यस्तो पुष्टी हुन्छ जसले यो स्थानीय नाम हो भन्ने ठोकुवा गर्न सकिन्छ। नेपालमा बोलिने तामाङ, नेवार लगायत, थुप्रै भोट बर्मेली परिवारका भाषाहरुमा 'चो' शब्दले सबै भन्दा उचो, अग्लो, शिर, टाकुरो, नायक, प्रमुख महत्वको आदरणीय भन्ने अर्थ बुझाउँछ, त्यसैगरी 'मो' ले 'माता', 'धर्तिकी देवी', भन्ने अर्थ बुझाउँछ, 'लुङ ले 'हीम पहाड वा पर्वत' र 'मा' ले (दोलखा लादुक, सिन्धुपाल्चोक, रसुवा, धादिङ जिल्लाका उत्तरी क्षेत्रको हिमाली तामाङभाषाहरुमा बहुबचन बुझाउने प्रत्येय) 'हरु' भन्ने अर्थ बुझाउँछ, तसर्थ 'चोमोलुङमा' भन्नाले स्थानिय आदिवासी जनजातिका भाषाहरुमा 'धर्तीका पर्वतहरु मध्य सबैभन्दा अग्लो पुजनीय पर्वतकीदेवी भन्ने अर्थ बोध हुन्छ । जुन पर्वत वा हीमसिखर यथार्थमा पृथ्वी अर्थात् धर्तिकै सबैभन्दा अग्लो, सर्वोच्चो नै थियो । यहाँ चोमोलुङमा भन्नाले सर्वोच्च हिमपहाडकी देवी(Mother godess) भन्ने अर्थ बुझाउने भएकाले वास्तविक त्यसको गणितीय मापन हुनु पहिलेदेखि नै स्थानीय आदिवासीय मान्यतामा अन्य हिमालय पर्वतहरु भन्दा उचाइका दृष्टिले प्रमुख महत्वको अथवा सर्वोच्चो रहेको कुराको पुष्टी भएको छ । जुनकुराको वैज्ञानिक गणितीय मापन विधि तथा सर्भेबाट पछिमात्र प्रमाणित भएको थियो।
यहि 'चो' शब्द विभिन्न भोटबर्मेली परिवारका स्थानिय आदिवासीहरुको भाषा तथा भाषिकाहरुमा कालान्तरको भाषिक विकासले ध्वनी परिवर्तनभई हालसम्म 'चो' 'जो', थो' (यही भोटबर्मेली 'चो' ध्वनीको भारोपेलिभाषामा ज्हो, ज्यो, झो उच्चारण भएको हो) प्रयोग भएको पाइन्छ भने भारोपेली भाषाका भोटबर्मेली भन्दा (प्रायः तिब्बती बर्मन भाषाहरुमा घ, झ, ढ, ध, भ संस्कृतका चतुर्थ महाप्राण ध्वनी नहुने भएकाले) भारोपेली परिवारका भाषा बोल्नेहरुले 'चो' लाई सुन्दा र लेखेर व्यक्त गर्दा 'ज्हो' (झो) फरक ध्वनी उच्चारित हुन्छ, त्यसैले भारपेलि लेखकहरूले 'चोमोलुङमा' लाई ज्होमोलुङमा (झोमोलुङमा) भनेर लेख्‍ने गरेको पाइन्छ।
विद्वान भूगोलवेत्ता स्व. डा.हर्क गुरुङका अनुसार तत्कालिन भारतमा अधिनायकत्व जमाएर बसेका बेलायती सरकारले बृहत सर्भेको क्रममा सन १८५२ मा Mt.XV विश्वकै सर्बोच्च शिखर भएको पत्ता लागेपछि उनीहरुलाई सो चुचुराको स्थानीय नाम (चोमोलुङमा भन्न) थाहा नभएको कारण बेलायती दुतावास मार्फत नेपाल सरकारलाई सो चुचुरा र स्थानको स्थानीय नाम पठाउन अनुरोध पठाएका थिए। नाम पत्तालगाउन दरवारले तत्कालीन ओखलढुंगाका बडा हाकिमलाई सोधि पठायो तर स्थानीय बासिन्दासंग सोधखोज तथा अध्ययन नै नगरी पठाएको 'देउढुंगा वा गौरीशंकर' भन्ने नामले सर्भेएरहरु सन्तुष्ट भएनन् त्यसको बाह्रवर्ष पछि सन १८६५ मा सर्भेएरदलको प्रमुख जो वर्षौं लगेको शिखरको उचाइ मापनको गणितीय कार्यमा समेत प्रत्यक्ष संलग्न पनि थिएनन् तीनै बेलायतीको नाममा उनको योगदानको कदर भनेर विश्वको सर्बोच्च शिखरको नाम सात समुन्द्रपारीका अंग्रेज सर जर्ज एभरेष्टको नाममा Mt. Everest भन्ने न्वारण बेलायतमै भएको थियो (डा.हर्क गुरुङ)।
यसको झण्डै एक सय वर्षपछि २०१६ साल सन १९५० मा नेपालका प्रधानमन्त्री बि.पी.कोइराला र चीनका राष्ट्रध्यक्ष माओत्सेतुङ को कार्यकालमा विश्वको सबैभन्दा अग्लो शिखर तथा नेपाल र चीनको सीमाबिन्दु बारे चीनमा छलफल भएको थियो। त्यसपछि सन १९५० अप्रीलमा काठमाण्डौमा नेपाल र चीनका तत्कालिन प्रमहरु चाउलानए र बी.पी.को प्रम स्तरिय सम्झौतामा चोमोलुङमा नेपालको हो भन्ने कुरामा सहमति भइ, दक्षिणपिट्ट फर्केको चुचुरासम्म नेपालको र उत्तरपिट्ट फर्केको चुचुरासम्म चीनको हुने संहमति भएको थियो। सर्वोच्च शिखरको तत्कालिन समयमा नेपालका पत्रपत्रिकाहरुमा 'चोमोलुंगमा' भनेर उल्लेख गरेको छ (हेर्नुहोस् नेपालको राजनितीक दर्पण, भागदुई, पृष्ठ-३६३-४०६)।
सर्बोच्च शिखर 'चोमोलुङमा' को खसभाषामा नाम थाहा थिएन । तर तत्कालिन नेपालको प्रम बी.पी.कोइरालाले आफू चीन भ्रमणमा जाँदाको, आफूमाथी विश्वको सर्वोच्च शिखर 'चोमोलुङमा' चीनलाई सुम्पेको आरोपमा देशमा विरोध प्रदर्शन भएपछि व्यापक चासोराखी, सोधखोज गर्दा इतिहासकार बाबुराम आचार्यले चोमोलुङमा(विश्वको सर्बोच्च शिखर)को नाम आफूले सन १९३८ मै खस-नेपालीभाषामा रुपान्तर गरी सकेको कुरा बताएका थिए। उनले तत्कालिन नेपाली साहित्यीक पत्रिका 'सारदा' वर्षः ४, अंकः८ वि.सं.१९९५ मा 'सागरमाथा' अथवा 'झ्योमोलुङमा' (चोमोलुङमा) शिर्षकको कविता रचना मार्फत विश्वको सर्बोच्च शिखरको नाम सागरमाथा भनी न्वरण गरेका थिए। उनको उक्त रचनामा 'चोमोलुङमा' नाम तिब्बती भोटे भएकाले आफूले खस-नेपालीभाषामा उपयुक्त नाम 'सागरमाथा' हुने कुरा बताएका थियो (बिएन श्रेष्ठ, नेपाल पर्वत,२००३)।
तर तत्कालीन नेपालका केन्द्रीकृत खस-राष्ट्रिय खसअधिनायकवादी खसभाषीय औपनिवेसिक दृष्टिकोणबाट तथाकथित इतिहासकार, लेखक, साहित्यकारहरु एवं सरकारी निकाय र कर्मचारीहरुले पूर्वाग्रही रुपमा यहाँका स्थानीय आदिवासीहरु तामाङ, गुरुङ, थकाली, मगर, हुम्ली तामाङ, मुगाली, सीङसावा, थुदाम, तोप्केगोला, सेर्पा, भोटे, लामा भोटे आदिको मातृभाषा र संस्कृतिलाई तिब्बती अर्थात् विदेसीको संज्ञा दिइ उपेक्षा गरिएको थियो। त्यसै अनुरुप स्थानीय आदिवासीहरुको भाषामा नामकरण भएका कयौं स्थान नामहरुको वास्तविक अर्थ र मर्मलाई मरियामेट गरी नयाँ खस-भाषाकरण गर्ने अभियान नै चलाएको थियो। जसमा रसुवा जिल्लाको हालको सदर मुकाम दुङजे बाट धुन्चे, दोल्बु बाट डोल्पा, जोङसुम बाट जोमसोम, पाराचो बाट पलान्चोक आदि स्थान नामहरु पछि फेरिएका उदाहरण हुन। त्यसैकारण स्थानीय भूमि पुत्र जो वास्तविक हिमाल र डाँडा पाखाका मालिक हुन्। उनीहरुको नेपालको सम्पूर्ण उच्च पहाडी हीमालय क्षेत्रमा उत्पत्ति तथा बोलिने 'टिबेटो वर्मन' भाषा परिवारका तामाङ, सुनुवार, राइ, लिम्बु, शेर्पा, थकाली, मुगाली, काइके, खाम मगर तथा नेपाली लामा भोटेहरुको भाषामा हजारौं वर्षदेखि आजसम्म निरन्तर पुकारिंदै आएको विश्वको सर्बोच्च शिखरको स्थानीय नाम चोमोलुङमा जसको आफ्नै वस्तुगत अर्थयुक्त नाम हुँदा-हुँदै त्यसको अनुवादगरी खसभाषामा अर्थ न बर्थको नाम 'सगरमाथा' सन १९५६ देखिमात्र प्रयोगमा आएको हो।
यो देखि वाहेक माथि तामाङ भाषामा उल्लेख भएका हिम शिखरहरु मध्ये 'ख्लाप्साङ कार्पो' हिमखिरको नामलाई गणेश हिमाल भनेर नाम फेरीएको हो, हुन त एउटा हिमालको मात्र होइन थुप्रै गाउँहररूको स्थानीय नामहरुलाई बदल्ने खसकरण अथवा अंग्रेजी करण गर्ने गरिएको छ, यो क्रम नेपालमा पञ्चायतकाल देखि हालसम्म जारी नै छ । एकताका विश्वको सर्वोच्च शिखरको स्थानिय नाम 'चोमोलुङमा' नै हुनु पर्दछ भनेर अन्तराष्ट्रिय स्तरमा नै आवाज उठ्दा पनि साहेद अध्ययन अनुसन्धान तथा खोजको कमिले हुनसक्छ, नेपाल सरकार र जानजातिका भाषिक तथा मौलिक अधिकारका निमित्त भनेर खोलेका संघ संस्थाहरु सबै चुप नै रहे।
अन्तमा, अन्तराष्टि्रय स्तरमा भने उपनिवेशहरुको अन्तसंगै उनीहरुले नयाँ स्थापित गरिएको नामहरुको बदलामा पुरानै स्थानीय भाषामा रहेका नामहरुले स्थान पाउँदै गइरहेको छ, उदाहरणका लागि हाम्रै छिमेक राष्ट्र भारतमै पनि अंग्रेजहरुले अंग्रेजीभाषाको उच्चारणका आधारमा प्रचलनमा आएको नयाँ नामाकरण गरेको पुरानो सहरहरूको नाम बम्बे(बम्बइ), मद्रास, कलकत्ता को बदलामा पुरानै स्थानिय भाषामा रहेका नाम 'मुम्बइ, चेन्नाइ, कोलकाता' लाई नै हाल प्रचलनमा ल्याइ सकेको छ त्यसैगरी 'बर्मा' बाट हाल 'म्यान्मार' मौलिक स्थानिय नाम नै प्रयोग भइसकेको ज्वलन्त उदाहरणहरु हामी सामु बेग्रल्ति पाईन्छन्।
अवको जनताको संघिय लोकतान्त्रिक राष्ट्रिय गणतान्त्रिक नयाँ नेपालमा राष्ट्रको मौलिक नीधि विश्वको सर्वोच्च शिखरको नाम अझै Mt. Everest र सगरमाथा नै रही रहनु र स्थानिय आदिवासी भूमिपुत्रहरुको भाषा रहेको स्थानिय नाम चोमोलुङमा जो नेपालमा मात्र होइन अन्तराष्ट्रिय रुपमा समेत चीन लगायतले स्विकारीएको स्थान नाम हो जसको यथार्थ र शाब्दीक अर्थ विश्वको सर्बोच्च सिखर भन्ने नेपालकै तामाङ, सेर्पा, राइ लगायत आदिवासी जनजातिका भाषाहरुमा लाग्दछ भन्ने पुष्टी भइसकेको छ तसर्थ राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा नै विश्वको सर्बोच्च सिखरको चोमोलुङमा स्थानीय नाम नै व्यहारमा ल्याउनु पर्दछ र प्रयोग गरिनु पर्दछ भनि सम्वन्धित पक्षहरु र गणतान्त्रिक, नेपाल सरकार पर्यटन मन्त्रालयको ध्यान जावोस् ताकी आदिवासी जनसमुदायले नेपालमा साँच्चिकै जनताको संघिय लोकतान्त्रिक गणतन्त्र आएछ भन्ने कुराको अनुभूत गर्न पावोस् र सकोस ।
थुजेछे ।

सन्दर्भ सामाग्रीः
१. देवकोटा, ग्रीष्मबहादुर, २०३६, नेपालको राजनैतिक दर्पण, भागद्द, प्रकाशक अर्जुनबहादुर देवकोटा, काठमाण्डौ,
२. बान्तवा डिक, २०५० किरात राई(बान्तवा) शब्दकोश, पृ-३२
३.. २०५७ बेक्सुपा, चोमोलुङमा कसरी सगरमाथा हुन गयो? छहरा सहप्रकाशन, नव चोमोलुङमा, खम्बुवान विशेषांङ्क, वर्ष-१ अंक-१ पौष,
४. हुंगबहादुर तामाङ पूर्व गा.वि.स. उपप्रमुख बोमताङ, स्व.प्रेमकुमारी तामाङ ऐतिहासिक तामाङ गीत विज्ञ, सावाङ, नुवाकोटबाट तामाङ भाषामा हिमाल नाम गीतको अंश प्राप्त-२०५०
५. Angphurba, Ramesh Raj kunwar, Nepalise climbers on Mount Everest-2002
६. NEPAL PARBAT, Vol:4, No: 9, May 29, 2003
–Dr. Haka Gurung, 1971 at Khumbu Icefall, P-36-39
- B.N. Sherestha, Sagarmatha Belongs to Nepal , p.69-71
७. गुरूङ हर्क, हिमाल नाम र नीति बारे, कान्तिपुर दैनिक, कोसेली, शनीवार, १३, पुस, २०५९)
८.आचार्य बाबुराम, २०५९ 'चीन तिब्बत र नेपाल', प्रकाशक:श्रीकृष्ण आचार्य,
९. नेपाल तामाङ घेदुङ, शम्भु तामाङ तथा तामाङ आरोहि अभिनन्दन समारोह समितिको प्रेस विज्ञप्ति ३ असार २०६०
१०. श्रेष्ठ तिर्थबहादुर, 'हराएको सगरमाथा विलाएको पातले छाँगो, हिमाल खबर पत्रिका, १६-३२, असार, २०६०
११. Behind The Scenery, VOL: I, No: 04, 29; May-15; June 2003, Publication P.Ltd.
१२. A booklet, Felicitation Program for Tamang Mountaineers-2003, NTG
Mailling Address: Ajitman Tamang,
tamang.ajitman@gmail.com, ajitman4@yahoo.co.in
Tel 977 9841523379
PO Box No:19559, KTM, Nepal

Comments