नेपालको बौद्ध आदीवासी जनजातिको भाषा, धर्म र संस्कृतिसँग चीनिया संस्कृतिसँगको सम्बन्ध

नेपालको बौद्ध आदीवासी जनजातिको भाषा, धर्म र संस्कृतिसँग चीनिया संस्कृतिसँगको सम्बन्ध
अजितमान तामाङ
tamang.ajitman@gmail.com
परिचय:
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलुक हो । त्यसैले नेपालमा हिमालय, पहाड देखि समथर मधेशसम्मका भाषिक, धार्मिक, सांस्कृतिक विवधता पाईन्छ । यहाँ कुनै एउटा जाति, भाषा, धर्म र संस्कृति विशेषको बाहुल्यता छैन। तापनि नेपालको राज्यसत्तामा विगत २३८ वर्षदेखी एउटा मात्र जाति, भाषा, धर्म र संस्कृतिको एकक्षत्र केन्द्रकृत सामन्ती सत्ता रहेकाले नेपालको हिमाली तथा पहाडी भुभागमा सदियौ देखी बसोबास गर्दै आइरहेका आदिबासी जनजातिहरूको भाषा, धर्म तथा संस्कृतिले राजकीय रूपमा स्थान पाउन सकेको छैन।
नेपालको प्रथम जनआन्दोलन सन १९८९ ले जनताका थुप्रै यस्तो असन्तुष्ट विषयहरूलाई व्यक्त गर्ने अवसर दियो। जनताको यो महान जनआन्दोलनले नेपालमा बहुदलिय व्यवस्थाको स्थापनाको साथै नयाँ संविधान-१९९० जारी गरायो । यसपछि भने नेपाली जनताले प्रजातन्त्रको गन्ध पाउन थाले। विस्तारै विस्तारै नेपालका आदिवासी जनजातिहरूको शान्तिपूर्ण आन्दोलनका कारण उनीहरूको भाषा, धर्म तथा संस्कृतिको पहिचान बारे राज्यस्तरमा कुरा चल्न थाल्यो।
नेपाल सरकारले ०७-०७-१९९७(२०५४ आसार २३)का दिन नेपालको इतिहासमा पहिलो पटक जनजाति हेर्ने सरकारी निकाय "राष्ट्रिय जनजाति विकास समिति" गठन गर्‍यो।[1] बल्ल नेपालमा नेपालका आदिवासी जनजातिहरूको बारेमा सरकारले खोजी आरम्भ गर्‍यो। सरकारले ५९ आदिवासी जनजातिहरूको पहिचान गरी नेपालको राजपत्रमा प्रकाशित गरी सूचिकृत गरे। यसपछि भने नेपालमा नेपालका आदिवासी जनजातिका भाषा र संस्कृतिले राज्यबाट आंसिक रूपमा संरक्षणको अवसर प्राप्‍त गर्न थालेका छन्। मातृभाषाहरूमा पाठ्यक्रम पाठ्यपुस्तक निर्माण गर्ने, जनजातीय चाडपर्वले नाम मात्रको भए पनि ल्होछार(लोसार) वा नयाँ वर्ष उत्सवमा आंसिक रूपमा पर्व विदा पाउन थालेका छन्।
दश वर्ष भन्दा लामो समयसम्मको असन्तुष्ट जनताको सशस्त्र जन विद्रोह पछि जब माओवादी पार्टी पनि नेपाल सरकारमा सामेल भए त्यसको लगतै मातृभाषाले सरकारी सञ्‍चारका माध्यमहरू ने.टि.भि., रेडियो नेपाल र गोरखापत्रमा स्थान पाउन थालेका छन् र राज्यलाई भर्खर धर्म निरपेक्ष घोषणा गरेका छन्। यहाँका आदिवासी जनजातिको लोक-संस्कृति, लोक-साहित्य, लोक-इतिहास, लोक-कला, सीप, भाषा, लिपि, धर्मका बारेमा पर्याप्‍त खोज अध्ययनहरू हुन सकेको छैन। यहाँको उत्कृष्ट र मौलिक संस्कृतिहरूको राष्ट्रिय तथा अन्ताराष्ट्रिय रूपमा चिनाउन कुनै प्रयास भएको छैन। सँगै सीमा जोडिएको चीनको तिब्बत सम्म पनि नेपालको मौलिक आदिवासी जनजातिको कला-संस्कृतिको बारेमा सूचना पुग्न पुर्‍याउन सकेको छैन । तसर्थ यहाँ नेपाल र चीनका जनताका बीचको सामीप्यतालाई राजकीय रूपमा रहने गरेको लिखत इतिहास वा सन्धि सम्झौतामा उल्लेख नभएका र विशुद्ध जन-संस्कृति भित्रको सधियौ पुरानो चीन र नेपाल बीच मैत्री भाव झल्काउने नेपाली आदिवासी जनजातिहरूको मौखिक लोक-साहित्य तथा प्रदर्शनकारी लोक-कला (Performing folk-Art & Culture) तथा आख्यानहरूमा लुकेका केही विषयहरू माथि चर्चा गर्ने छु।
नेपालको सत्ताधारी जातिहरूले हिमाली तथा पहाडि बौद्ध जनसमुदायको शारिरिक बनोट, धर्म संस्कृति, भेषभुषालाई अपहेलित रूपमा दुर्व्यवहार गर्नु पर्दा आजसम्म पनि "भोटे' वा "जाडे भोटे" भनेर भनिन्छ यसको अर्थ तिब्बती वा चिनियाँ मं‌गोलाइड जाति भन्ने हो। नेपालको सत्ताधारी समुदायबाट हुने यस्तो व्यवहारले नेपालका हामी आदिवासीहरूलाई नेपालको उत्तरी सिमापारीको छिमेकी राष्ट्र चिन सँगको भावनात्मक मैत्री सामिप्यतालाई बृद्धि गराएको छ। त्यसैले हो कि मनको भित्री भावनादेखी नै हिमाली बौद्ध जनसमुदायहरू चीनलाई नै रूचाउँछन्। नेपालका हिमाली पहाडी आदिवासी जनजातिको भाषा, संस्कृतिले पनि वास्तवमा यस्तै झल्काउँछ।
नेपालमा बोलिने भाषाहरू एकाक्षरी चिनिया वंशका भाषा समूह हो। नेपालका हिमालीभाषाहरू तामाङ, खाम मगर, मनाङबा लगायत भाषाहरूमा चिनियामा भाषामा झै तान युक्त चरित्र पाइन्छ। त्यस्तै नेपालको बौद्ध धर्मको ठूलो जनसंख्या चीनको बौद्ध धर्म जस्तै महायनी बौद्ध मतका मुख्य छन्। नेपालको हिमाली पहाडी क्षेत्रमा तत्वका आधारमा गणना गरिने प्राचीन चिनिया ज्योतिष तथा खगोल शास्त्रको प्रयोग अझै लोसर(ल्होछार) नयाँ वर्ष पर्वको रूपमा भइरहेको पाइन्छ। लोसर(ल्होछार) नयाँ वर्ष परम्परा चिनीया परम्परागत नयाँ वर्ष उत्सव अर्थात् बसन्त उत्सव र तिब्बतको लोसर सँग अन्योन्यास्रित सम्बन्ध रहेको छ। अझ भेषभुषा र खान पिनमा पनि तिब्बती तथा चिनीया सँग निकै नै मिल्दोजुल्दो रहेको पाईन्छ। यस लेखमा चिनिया भाषा, धर्म, संस्कृति सँग मिल्दोजुल्दो यस्ता नेपाली आदिवासी जनजातिका अहिलेसम्म उजागार नभएका विषयहरूमा केन्द्रित भइ संक्षिप्‍तमा चर्चा गर्ने प्रयास गरेको छु।

नेपालका आदिवासी लोक-कला तथा लोक-साहित्यमा झल्केको चीन र चिनियाँ संस्कृति:
(क) प्राचीन काठमाण्डौ उपत्यकाका र पेकिङ मानव विकास काल देखीको चीन सँगको सम्बन्ध: बारे ।
नेपालको काठमाण्डौ उपत्यकाको मानव सभ्यताको सुरुवातको कुरा गर्नु पर्दा स्थानीय जन श्रुति अनुसार त्रेता युगको प्रथम चरनमा जुन बेला मानिसको आयु ६०,००० वर्ष हुन्थ्यो। त्यस बेला उपत्यकामा नागदह थियो र यस नागदहमा श्री ज्योतिरूप स्वयम्भूको उत्पत्ति भएको कुरा आफ्नो ज्ञान चक्षुबाट थाहा पाइ दर्शनार्थ महाचीनको पञ्‍चशिर्ष पर्वतको थुम्कोमा रहनु भएका महामञ्‍जुश्रीका निर्वाणकाय श्री मञ्‍जुदेवाचार्य महाचीनबाट आफ्ना केशनी र उपकेशनी (बरदा र मोक्षदा) दुई स्त्रीका साथमा चीन महादेशका राजकुमार धर्माकर, लोकजनहरू, महाकाल, गणेश आदिको साथमा नागदह भएको याम्बु(काठमाण्डौ) उपत्यका आउनु भयो। श्री ज्योतिरूप स्वयम्भूको दर्शन गर्न नागदहको पानी सुकाउँदा सजिलो हुने आफ्नो राल्डी(खड्‍ग‍‍)ले दहको किनार काटी पानी सुकाए पछि नागदहले बनाएको मलिलो भूमिमा सबै तिरबाट आएका लोक जनहरूलाई बसोबास गराइ देवपट्टन नामक सहर बसाली त्यहाँका राजा आफूसँगै आएका राजकुमार धर्माकरलाई बनाए[2]। भन्ने लोक विश्‍वास आजसम्म पनि स्वयम्भू पुराणको रूपमा पाइन्छ। यस ऐतिहासिक लोक आख्यानको मर्मलाई साथ दिने एउटा पुरातत्त्वकी अध्ययनको निचोड यस्तो छ। सन१९७८ मा नेपाल रसिया सांस्कृतिक सम्झौता अन्तर्गत रसियाका लेनिनग्राद विश्‍व विद्यालयका प्राग-ऐतिहासिक पुरातत्वविद् डा. एनातोली याकोब्लभ सेटेन्कोले काठमाण्डौको बूढानीलकण्ठको दक्षिण पूर्वतिर बानिया पाखा र पण्डित गाउँको बीचमा रहेको धोबी खोलाका किनारमा एउटा अध्ययन गरेको थियो। यस अध्ययनले प्राचीन पाषाण युग (उत्तरकाल ईशा पूर्व ३०,००० वर्ष)का केही ढुङ्गे उपकरण विना पालिसका तर चोट दिएर ताछेर बनाएको (Flaked Chipped) पाषाण उपकरण प्राप्‍त भएको तथ्य सार्वजनिक गरेको थियो। यो पाषाण उपकरण उपत्यकामा भेट्नुलाई डा. सेटेन्कोले आफ्नो अध्ययनको निचोडको रूपमा यो पाषाण उपकरणको प्रयोग गोवीबाट सुरु भएर सुदूर पूर्व एसिया (पेकिङ्ग)हुँदै याम्बु(काठमाण्डौ)उपत्यकामा मंगोलायड जाति तिब्बत र हिमालय हुँदै काठमाण्डौ उपत्यका आइ पुगेको कुरा निष्कर्ष निकालेका थिए।[3] एसियाकै जेठो मानव विकास पेकिङमा भेटिएको मानव आकृति आजको मंगोल जातिसँग मिल्ने हुँदा महाचीनबाट मञ्‍जुदेवाचार्य आएर काठमाण्डौ उपत्यकाको नागदह सुकाएर बस्ती बसालेको ऐतिहासिक जन लोक-आख्यानलाई प्रमाणित गर्ने आधार प्राप्‍त भएको छ। आफूलाई मञ्‍जुदेवाचार्यकै सन्तानको रूपमा दाबी गर्ने एउटा जाति जसको आज पनि काठमाण्डौ उपत्यकामा वरिपरि घना आबादी रहेको छ। उनीहरूनै मंगोल मूलका सबै भन्दा पुरानो समुदाय हुन भन्ने कुरा विद्वान जनकलाल शर्माले पनि स्विकार्नु भएको छ। जसको धर्म, भाषा, भेषभुषा, रूपरंग आदी चिनिया मूलका सँग धेरै मिल्छ। यही ऐतिहासिक तथ्यले नेपाल र चीनको मैत्री सम्बन्ध प्राचीन मानव जातिको उत्पत्ति काल देखी नै थियो भन्ने इङ्गित गर्छ ।
(ख) नेपाली आदिवासी जनसमुदायमा चिनियाँ खगोल तथा ज्योतिष परम्पराको प्रचलन र ऐतिहासिकताको सेतु
नेपालका मंगोल मूलका भनेर चिनिने जनसमुदायहरूको महान् चाड लोसार वा ल्होछार अर्थात् नयाँ वर्ष उत्सव हो। नेपालको हिमाली तथा पहाडी जनजातिमा सबैभन्दा धेरै जनसंख्या भएको र नेपाल भरी फैलिएको जाति तामाङ लगायत गुरूङ, भोटे, सेर्पा, ल्होपा, सीङसा, तोप्केगोला, मनाङबा, दोलबु(डोल्पा), मुगाली, भोटे, हुम्ली आदि आदिवासी जनजातिहरू आज पनि परम्परागत चिनियाँ तत्वीय ज्योतिष तथा खगोल (Elemental Astrology and Astronomy) परम्परा अनुसारको नयाँ वर्ष उत्सव मान्छन्। नेपालमा लोसार चाड आधिकारिक र स्तरीय प्रमाणिक पात्रो परम्पराको अभावमा विभिन्न जातिले अधिकमास मान्ने परम्पराको अन्तरका कारणले विभिन्न समयमा मनाउने गरि आएका छन्। नेपालमा यो परम्पराको प्रमाणिक र ऐतिहासिक रूपमा खोजी भएको छैन तर अंशुवर्माका चाँगुको सुवर्णपत्राभिलेखलाई आधार मान्दा वैशाख देखी आश्विनसम्म वर्षको उत्तरार्धमा अधिकमास परे पौषमा अधिकमास [4] मान्ने उनको बेगल परिपाटिलाई विद्वानहरूले अनौठो मानेका छन् तर यो परिपाटी तत्वीय खगोल शास्त्रका (Elemental Astrology) आधारमा महिना वर्षको गणना गर्ने तामाङ समुदायको वर्ष, महिना गणना गर्ने परिपाटीसँग ठ्याक्ककै मिल्छ। नेपालको तामाङ लगायत जनजातिहरूको यो सांस्कृतिक परम्परासँग चिनियाँहरूको परम्परागत वसन्त उत्सव मनाउने परम्परा अर्थात् नयाँ वर्ष उत्सवसँग पनि मिल्छ। अझ तामाङ जातिको महान् चाड नयाँ वर्ष उत्सव र चिनियाँ परम्परागत नयाँ वर्ष उत्सव वा वसन्त उत्सव एकै दिनमा पर्छ। यो परम्परा कहिले देखी आरम्भ भयो भनेर भन्न कठिन छ तर यहाँका तामाङ जाति जति पुरानो हो त्यति नै पुरानो यो हो भन्न चाही अप्ठ्यारो पर्दैन। किन भने काठमाण्डौ उपत्यकाको प्रागैतिहासिक काल देखी स्वयम्भू महाचैत्यको अभिमुखमा स्वयम्भू महाचैत्य सुप्रतिष्ठित अक्षोभ्य तथागतको सन्मुख स्थापित धर्मधातु वागीश्वर मण्डलको पीठमा अङ्कित तत्वीय खगोलशास्त्रका १२ जीव जन्तुको चक्र रहेका छन्[5] यसले नेपालमा यो परम्परा प्राग-ऐतिहासिक काल देखी नै थियो भन्ने पुष्टि गर्दछ। चीनमा भने लगभग पाँच हजार वर्ष अघि देखी अर्थात् सिया राज्यकालमा (२१००-१६०० ई. पू.) यो तत्वीय ज्योतिष तथा खगोल शास्त्रको परम्परा प्रचलनमा थियो र आजसम्म पनि रहि रहेको छ।[6] नेपालका रसुवा, नुवाकोट, धादिङ लगायतका हिमाली क्षेत्रको तामाङ जनसमुदायमा यही नयाँ वर्ष उत्सवका बेला छेच्युको अवसर पारेर विभिन्न बौद्ध मनोरञ्जनात्मक नाटकहरू देखाउने गरिन्छ। यस्तै मध्ये नुवाकोट जिल्लाका बोमताङ गाउँका तामाङहरूले देखाउने धेरैवटा चेमा(नाटकहरू) मध्ये एउटा चेमा(नाटक)मा गोरखाअ‍ी ग्याल्बो (गोरखाका राजा) र ग्यामीकी ग्याल्बो(चिनिया राजा)को घोढचढी नाटक मञ्‍चन गरिन्छ। यस नाटकमा दोहरी गीतबाट "ङा गोरखाअ‍ी ग्याल्बो" (म गोरखाको राजा हुँ) तपाई को हो? र यहाँ के कति कामले आउनु भएको होला भनेर सोधिन्छ। चीनपट्टिकाले "ङा ग्यामीअ‍ी ग्याल्बो" ( म चीन देशको राजा हुँ) चीनबाट यो बुद्ध जन्मेको पवित्र तिर्थको भूमिमा यो बोमताङ गाउँमा आज ल्होछार( नयाँ वर्ष) उत्सवका बेला छेच्यु पर्व रमाइलो लागेर हेर्न आएको हुँ भनेर सवालको जबाफ दिने गर्छ । यस तामाङ गाउँमा पाइएको नाटकले पनि चीन नेपालको मैत्रीभाव जनस्तरमा कस्तो थियो भन्ने अनुमान लगाउन सजिलो हुन्छ । यस प्रकार ल्होछार(लोसार) नयाँवर्ष पर्वसँग जोडिएको प्राचीन चिनियाँ ज्योतिष तथा खगोल शास्त्रको परम्पराले चिनियाँ जनता र नेपालका आदिवासीहरू बीचमा मित्रताको सेतुको भूमिका निर्वाह गरिरहेको छ। तसर्थ यस बारे अझ गहन अध्ययन अनुसन्धान हुनु जरुरी छ।
(ग) नेपाली आदिवासी जनसमुदायको भाषा र चिनियाँ भाषा सँगको नाता सम्बन्ध
नेपालको जनगणना सन २००१ ले नेपालमा बोलिने ९२ भाषाहरू देखाएका छन्।(जनगणना-२०५८) मध्ये ५५ भाषाहरू तिब्बती बर्मन परिवारका छन्।[7] नेपालका तिब्बती बर्मन परिवारका भाषाहरूमा सबै भन्दा धेरै वक्ता संख्या भएको भाषा तामाङ हो । तामाङ लगायतका तिब्बती बर्मन परिवारका भाषाहरू सबै एकाक्षरी भाषाहरू हुन। एकाक्षरी भाषामा एउटा वर्ण वा ध्वनि वा स्वनिमका पनि शब्द तथा वाक्य बन्ने र अर्थ युक्त हुन्छ । यीनीहरूको मुख्य भाषा परिवार चिनियाँ एकाक्षरी हो । तसर्थ नेपालमा बोलिने प्राय तिब्बती बर्मन परिवारका भाषाहरूमा चिनियाँ तथा तिब्बती पन देखिन्छ। यी भाषाहरूको महत्वपूर्ण पक्ष भनेको तान युक्त चरित्र हो । अहिलेसम्म नेपालका तामाङ, थकाली, खाम मगर, शेर्पा, मनाङबा गुरूङ, सुनुवारी, ह्योल्मो आदि भाषाहरू तानीय चरित्र युक्त भाषाहरू हुन भने अहिलेसम्मको अध्ययनमा चिनियाँ हान भाषाको पैचिङ्ग भाषिकामा जस्तै तानीय चरित्र (Tonal System) तामाङ भाषामा भेटिएको छ। चिनियाँ हान भाषिकामा झै पश्चिमी तामाङ भाषामा पनि निम्न प्रकारको तानीय चरित्र पाइन्छ।
(१) उच्च तान (High)= ˥ , /ma/ (mama) 'female' नक मम(=कुखुरी)
(२) मध्य उच तान (Mid-High)= ˦ , /ma/ 'bamboo' म(=निगालो)
(३) मध्य तान (Mid)= ˧, /ma/ 'stem' दोङल म(=रूखको काण्ड )
(४) नीच तान (Low)= ̘̘̘˨, /ma/ 'son-in-law' जमे म̣(=ज्वाँई )

(१) उच्च तान (High)= ˥ , /ka/ 'blood'' क(=रगत)
(२) मध्य उच तान (Mid-High)= ˦ , /ka/ 'thread' क (=धागो)
(३) मध्य तान (Mid)= ˧, /ka/ 'kaka'' ཀ་ཀ कक(=सिमल )
(४) नीच तान (Low)= ˨ , /ka/ (kaba) 'Thickness''' बप क̘̘̘ब(=बाक्लो जाँड)
यस्तो तानीय चरित्र तिब्बती भाषामा पनि पाइन्छ । त्यस्तै नेपालका आदिवासीहरूको भाषाको अध्ययनबाट चिनियाँ भाषासँग धेरै निकटताहरू रहेको कुरा सिद्ध हुन्छ। नेपाल चीनको सीमा रहेका हिमाली आदिवासी जनजातिहरूमा प्राकृतिक सीमा स्तम्भका रूपमा रहेका हिमालयहरू मध्ये पनि सबै भन्दा अग्लो हिमाललाई "चोमोलुङमा" भनेर पुकारिन्छ । यहाँको तामाङ जातिको भाषामा यसको अर्थ यस्तो हुन्छ "चो" ले उच्‍च अग्लो, "मो" ले धरती माताको, "लुङ" ले डाँडा वा पहाड र "मा'" हरू मध्ये बझाउँछ अर्तात् हिमालय पहाड वा डाँडाहरू मध्ये अग्लो भन्ने बुझाउँछ । हुन त चोमोलुङमाको उचाई पछि पत्ता लगाएको हो । तर त्यो भन्दा पहिले नै हामी आदिवासीहरूलाई पनि थाहा थियो कि चोमोलुङमा नै सर्वोच्च अग्लो पहाड हो। आज चिनियाँ भाषिहरूले पनि यस हिमालय पहाडलाई चोमोलुङमा नै भनेर बुझ्दछन्। यसरी भाषिक र भौगोलिक रूपमा पनि चीन सँग नेपालको नाता बलियो रहेको कुरा जन भाषा र संस्कृतिमा भेटिन्छ।
(घ) बालपो वा बालयुल वा याम्बुको सँगको सम्बन्ध
हालको काठमाण्डौ उपत्यकालाई तामाङ लगायत हिमाली जनजातिहरूको भाषामा याम्बु भनिन्छ। यो शब्द पनि नागदह छँदाको समय देखीकै प्रचलनमा भएको विश्‍वास गरिन्छ। अझ तिब्बतका ञ्याखारी छेन्पोको पहिलो दरबारको रूपमा तिब्बतमा पनि याम्बु लाखाङ रहेको पाइन्छ। त्यसैगरी तिब्बती भाषामा याम्बु उपत्यकालाई बालयुल भनिन्छ। यसको अर्थ गोन्पाहरू(विहार) को देश भन्ने हुन्छ। काठमाण्डौ नेवार वज्रयानी बौद्धहरूको केन्द्र हो । यहाँ मध्यकालमा बनेका बौद्ध गोन्पा वा विहारहरू ४०० भन्दा पनि बढी रहेका छन् जसलाई 'बहाल' वा 'बहा' वा 'बही' अर्थात् विहार भनिन्छ। यही बहा र बहीको देश भन्ने अर्थमा तिब्बती भाषामा याम्बु उपत्यकालाई "बाल युल" भनिएको हो। नेवारहरूको प्राचीन आवास पनि बहीमा नै भएको हुँदा तामाङहरूले नेवार जातिलाई ''बा:ही' वा बाअ‍ी भनेर भन्छन्। तेह्रौं शताब्दीमा चीनमा ख्याति कमाएका नेपाली वास्तु कलाकार अरनीको(आनिको)लाई चिनियाँमा "पालपो" भनिनु याम्बु (काठमाण्डौ)उपत्यकाको पुत्र भनेर सम्बोधन गरिएको हो र "...चीनको युआन वंशको इतिहास(२०३) खण्डमा अरनिको नेपाल देशका मनिस थिए र त्यहाँ बसेका मानिसलाई 'पालपु' पनि भन्दछन्"..।[8] यसो हुनुको कारण चिनिया भाषामा "ब" को उच्चारणलाई "प" उच्‍चारण गरिन्छ त्यसैले "बालबु" याम्बु उपत्यकाको अर्थात् बाहा बहीहरू भएको देशको पुत्र भन्ने अर्थ लाग्छ यसैको चिनियाँ उच्‍चारण 'स्वरूप "पालपु" हुन्छ।
नेपालमा महायानी बौद्ध धर्म :
नेपालको हिमाली आदिवासी जनजातिहरू मुख्य धर्म बौद्ध हो । त्यो महायानी सम्प्रदाय हो । नेपालमा बसोबास गर्ने अधिकांश बौद्ध आदिवासी जनजातिहरूको मुल थलो चीनसँग सीमा जोडिएको हिमालय प्रदेश हो। तसर्थ यहाँका बौद्ध समुदायहरूको बौद्ध धर्म चीनका तिब्बतीहरू माझ फैलिएको सबै मत र सम्प्रदायहरू क्रमस: ङिङ्गमापा, शाक्यापा, गेलुक्पा, काग्युद्पा र वोनपा मतमा आस्थावान जन समुदाय तथा तीनीहरूको गोन्पाहरू पाईन्छ। यी सम्प्रदायहरू मध्ये सबैभन्दा ठूलो समूहमा ञीङ्गमापा सम्प्रदाय रहेका छन्। नेपाल सरकारको गोन्पाहरू हेर्ने निकाय स्थानिय विकास मन्त्रालयको गोन्पा व्यवस्था तथा विकास समितिमा हाल सम्म दर्ता हुन आएका गोन्पाहरू मध्ये ञिङ्गमापा सम्प्रदायको-१२६८, काग्युत्पा-१८०, शाक्यापा-६९, बोन्पो-३१, गेलुक्पा-२७, थेरवादी-४ अन्य-१३ गरी जम्मा १५९२ वटा गोन्पाहरू छन्। यसरी दर्ता नभएका समेत चार हजारको हाराहारीमा गोन्पाहरू रहेका छन्। यी गोन्पाहरूमा २०० देखि १००० वर्ष अघिसम्मका प्राचीन बौद्ध गोन्पाहरू भेटिन्छन्। माथिल्लो मुस्ताङका छोसेर र लुरीका ओढारमा अवस्थित प्राचीन बौद्ध गोन्पाहरूमा भेटिएको मानव निर्मित अवशेषहरु इशाको प्रथम शताब्दी भन्दा अगाडीकै हो भन्ने प्रमाणीत भइसकेको छ। नेपालमा प्राचीन वोन्पो सम्प्रदायका गोन्पाहरू तल्लो मुस्ताङ, डोल्पा, मुगु, हुम्ला, आदि स्थानहरूमा आजसम्म पनि छन्। हिजो आज नेपालको हिमाली तथा पहाडी भेगबाट बौद्धहरू राज्यबाट प्राप्‍त हुनु पर्ने भौतिक पूर्वाधार तथा आधारभूत मानवीय आवश्यकता गाँस वास कपास समेत अपुग भएको कारण सुगम अन्य क्षेत्रहरूमा बसाइ सर्न थालेएका छन्। नेपालका प्रमुख बौद्ध जातिहरूमा जनसंख्याका दृष्टिले क्रमस: तामाङ, गुरूङ, शेर्पा, योल्मो, भोटे, थकाली जाति मुख्य छन् । यीनीहरू मध्ये पनि सबैभन्दा ठूलो जनसंख्या तामाङ बौद्धहरूको छ। यीनीहरू वाहेक नेपालमा लामा(हुम्ली), दोल्बु(डोल्पो), मुगाली, मुस्ताङ्गी, फ्री, मनाङबा, ल्होपा, तोप्केगोला, थुदाम, सीङसा, वालुङ, लार्के, ताङबे, खाम मगर, नेवार आदि हिमाली बौद्ध आदिवासी जनजातिहरू छन्।
त्यसकारण नेपालका हिमाली बौद्ध जन समुदायहरूको उत्थानका लागि र उनीहरूको भाषा, धर्म, संस्कृतिको समग्र रूपमा संरक्षण, संवर्द्धन र विकास गर्नका लागि चिनिया तथा तिब्बति भाषा लिपि, धर्म र संस्कृतिको आधारभूत अध्ययन गर्नु जरूरी छ। किन भने नेपालमा सरकारले जबरजस्ती लादेका सरकारी कामकाजी लिपि देवनागरी पछि सर्वाधिक लोकप्रिय नेपालको पूर्व देखि पश्‍चिमसम्मको सम्पूर्ण हिमालय तथा पहाडी क्षेत्रमा तथा अन्तरराष्ट्रिय रूपमा समेत प्रयोग हुने लिपि अ‍ुचेन(तिब्बती लिपि) हो । विडम्बना नै भन्नु पर्छ राज्यले यो लिपि र यसमा लेखिएका ऐतिहासिक तथा पौराणिक पुरातत्त्वकी महत्व रहेका ग्रन्थहरूको समेत उचित व्यवस्था गर्न सकेको छैन साथै नेपालको हिमाली क्षेत्रको थुप्रै मौलिक भेषभुषा, ज्ञान एवं कला-कौसल, शिप तथा आदिवासी जनजातिका प्रविधिहरूको अध्ययन, अनुसन्धान, संरक्षण, प्रवर्द्धन तथा विकासको निम्ति राज्यले आदिवासी जनजाति लगायत सम्पूर्ण भाषिक, धार्मिक र सांस्कृतिक समुदायको विकासका लागि राज्यले ठोस निति तर्जुमा गर्न सकेको छैन। त्यसका निम्ति पनि चिनमा राज्यले लिएको तिब्बती लगायत अल्पसंख्यकहरूको भाषा लिपि, धर्म, संस्कृतिको विकास तथा उत्थानका निती तथा कार्यक्रम नेपालका आधा भन्दा ठूलो भूक्षेत्र ओगटने हिमाली तथा पहाडि बौद्ध जनजातिहरूको भाषा लिप, धर्म संस्कृतिको विकासको योजना तर्जुमा गर्न मार्ग दर्शक हुन सक्छ। त्यस कारण नेपाल तथा चिनियाँ सरकारले आफ्नो सीमा क्षेत्रको जन समुदायको भाषा, लिपि, संस्कृतिका संरक्षण, संवर्द्धन तथा विकासको निम्ति संयुक्त कार्य योजनाहरू बनाउन सके नेपालका हामी हिमाली तथा पहाडी आदिवासी जनजातिहरूको उत्थानका साथै उजागर हुन नसकेका दुई देश बीचको सांस्कृतिक सेतुहरूको माध्यमबाट आपसी सद्‍भाव र मैत्री भावनालाई अभिवृद्धि गर्ने बलियो आधार हुन सक्ने आशा लिन सकिन्छ। भवतु सब्ब मंगलम्। थुजेछे॥
अजितमान तामाङ
tamang.ajitman@gmail.com
सदस्य सचिव
नेपाल सरकार, स्थानीय विकास मन्त्रालय, गुम्बा व्यवस्था तथा विकास समिति, श्रीमहल पुल्चोक
Note:
Please Used the Kalimati Nepali Unicode font and Arial Unicode font for this article

References:

Hari, Maria
1970
A GUIDE TO TAMANG TONE, Tribhuvan University SIL Kathmandu, Nepal
Hari, Maria
1970
A GUIDE TO TAMANG TONE, Tribhuvan University SIL Kathmandu, Nepal
Watters David
1970
A GUIDE TO KHAM, Tribhuvan University SIL Kathmandu, Nepal
Shakya hemraj
1973
SHREE SOYAMBHU MAHACHAITYA, Soyambhu Bikas Mandal
Rajbanshi Shankarman
1977
Anusandhanko Eka Niskarsha, ANCIENT NEPAL No;41-42, Departmenof Archaeology, page; 1-4
Joshi Styamohan
1987
ARANIKO, The well known nepalese Architect (Araniko) ANIKO, Bijay Gajananda Baidhya, Kathmandu
Sharma, Janaklal
1992
HAMROSAMJ EAK ADHYAYAN, Sajha Prakashan, Nepal

1996
Practical Chinese reader Elementary Course book-I, The Commercial Press, Beijing
Ukyab, Tamla & Adhikari, Shyam
2000
NATIONALITIES OF NEPAL Committee for Development of Nationalities. Anamnaga Kathmandu
Bhattarai, Niranjan
2001
NEPAL CHEEN SAMBANDHA, Sajha Prakashan, Nepal
Acharya Baburam
2002
CHEEN TIBAT RA NEPAL, Shree Krishana Acharya
Gurung, Harka
2004
JANAJATI SEROPHERO, Nepal Adibasi Janajati Maha Sangha, Kathmandu
Tamang MuktaSingh
2005
JIKTEN TAMCHYOI, Tamang Adhyayan Kendra, Kathmandu
BajraCharya Badriratna
2005
SOYAMBHU PURAN, Ashananda Swadharma Vihar, Thanhiti, kathmandu
Tamang, Ajitman
2005
A BRIEF HISTORY OF LHOCHHAR, Nepal tamang Students Ghedung
Nepal Tamang Ghedung
2006
NEPAL STATISTICS INDIGENOUS PEOPLES, Nepal tamang Ghedung, Kathmandu
Tamang, Ajitman & Thokar, Rajendra
2006
Standarisation of Tamang Language, A seminar Paper on Standarisation process of of Tamang Languag, Organised by Nepal Tamang Ghedung
Note: (Dissertatons to China Tibetan Culture Forum Kathamandu, Dec 2007) तथा Today's Tibet (Bi-monthly) Jan-Feb 2008 vol.I मा प्रकाशित
[1] सं ताम्ला उक्याव, श्याम अधिकारी; नेपालका जनजातिहरू, राष्ट्रिय जनजाति विकास समिति,२०५७ वैशाख पृ-१-५
[2] पण्डित बद्रिरत्‍न बज्राचार्य, फनिन्द्ररत्‍न बज्राचार्य अनूदित स्वयम्भू महापुराण, आशानन्द स्वधर्म विहार थँहिटी काठमाण्डौ, २००५, पृ.१६-२०
[3] जनकलाल शर्मा, हाम्रो समाज:एक अध्ययन, शाझा प्रकाशन, पृष्ट;३५८-३६६
[4] शंकरमान राजवंशी, 'अनुसन्धानको एक निष्कर्ष', प्राचीन संख्या-४१-४२, भदौ-मंसिर, २०३४, पृ.१-४,
[5] Hemraj Shakya, Shree Soyambhu MahaChaitya, Soyambhu Bikas Mandal, Page-509
[6] Practical Chinese reader Elementary Course book-I, The Commercial Press, Beijing-1996, Page-194
[7] Nepal Statistics Indigenous Peoples, Nepal Tamang Ghedung; 2006. page-26
[8] हेर्नुहोस-सत्यमोहन जोसी, कलाकार अरनिको, विजय गजानन्द वैद्य, वि.स.‌२०४४, पृ-९१

Comments